४ बैशाख २०८१, मंगलबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु, माधव र उपेन्द्र अनुपस्थित


सत्ता गठबन्धन फाइल फोटो

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक केही समयअघि बैठक सुरु भएको हो । जारी बैठकमा गठबन्धनको सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव भने अनुपस्थित रहेका छन् ।

बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा हुने चुनावी तालमेल लगायत समसामयिक विषयमा छलफल गरेर संयुक्त विज्ञप्ति जारी गर्ने तयारी गरिएको छ ।

कांग्रेस नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठन भएको समितिको हिजो आइतबार बसेको बैठकले गरेका निर्णयमाथि छलफल गरी तालमेलको टुंगो लगाउन शीर्ष नेताहरू छलफलमा जुटेका हुन् ।

गठबन्धनले स्थानीय निर्वाचनका लागि गठन गरेको निर्वाचन तयारी तथा अनुगमन समितिले निर्वाचन सम्बन्धमा चैत्र २५ गते शुक्रबार बसेको बैठकले संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको थियो ।

काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले काँग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको स्थानीय तहको निर्वाचनबारे छलफलमा गर्न बैठक बोलाएका हुन् ।

यसअघि चैत्र २२ गते मंगलबार गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बसेको बैठकले कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको थियो ।

चुनावी तयारी तथा परिचालन समितिमा कांग्रेसको तर्फबाट महामन्त्री गगनकुमार थापा र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रको तर्फबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीको तर्फबाट महासचिव वेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीको तर्फबाट अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !