विजय सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवार बनाउने Nepalpatra विजय सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवार बनाउने
१४ मंसिर २०७९, बुधबार

विजय सुवेदीलाई एमालेले भरतपुरको मेयरमा उम्मेदवार बनाउने


विजय सुवेदी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर महानगर कमिटीले सुवेदीको एकल नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

महानगर कमिटीको आज सम्पन्न बैठकमा एमाले पोलिटब्यूरो सदस्य एवं चितवन जिल्ला इन्चार्ज देवी ज्ञवालीको प्रस्ताव र सांसद एवं एमाले नेता कृष्णभक्त पोखरेलको समर्थनमा सुवेदीको नाम सर्वसम्मत सिफारिस भएको एमाले भरतपुर महानगर कमिटी अध्यक्ष शङ्कर थपलिया जानकारी दिए ।

एमाले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले महानगरबाट एउटा मात्रै नाम सिफारिस भएकाले सोही नामलाई मात्रै प्रदेश कमिटीमा पठाउने बताए । प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पुगेको सिफारिसका आधारमा केन्द्रले उम्मेदवार निर्णय गर्नेछ ।

सुवेदी एमाले चितवनको दुई कार्यकाल पार्टी प्रमुख (सचिव) भइसकेका छन् । हाल उनी पार्टीको बागमती प्रदेश सचिव हुन् । सुवेदी भरतपुर महानगरभित्र पर्ने चितवन क्षेत्र नं २ (ख) बाट बागमती प्रदेशसभा सदस्य हुन् ।

उनी अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री हुँदा सामाजिक विकास मन्त्री थिए । सुवेदी भरतपुर महानगरपालिका–१२ का स्थायी बासिन्दा हुन् । उनी भरतपुर अस्पताल विकास समितिको अध्यक्ष हुँदा गरेका कार्य प्रशंसनीय छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !