४ बैशाख २०८१, मंगलबार

बालुवाटारमा सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक सुरु


सत्ता गठबन्धन

काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी समितिको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही समयअघि बैठक सुरु भएको हो । देशभरका जिल्लाबाट प्राप्त प्रतिवेदनबारे थप छलफल गर्न गठबन्धनको चुनावी तयारी समितिको बैठक शुरु भएको हो ।

सत्ता गठबन्धनको स्थानीय तह चुनाव तयारी, परिचालन तथा अनुगमन समितिको बैठकमा जिल्लाहरूबाट चुनावी संयन्त्रबारे प्राप्त प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

समितिका संयोजक एवम् कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी तालमेल गर्नुपर्ने वा नपर्ने भन्ने स्थानीय तहको प्रतिवेदनमाथि छलफल गर्न आज आइतबार बैठक बोलाएका हुन् । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा चुनावी तयारी तथा अनुगमन समिति गठन भएको छ।

बैठकले चुनावी तालमेल कहाँ-कहाँ गर्ने ? कसरी गर्ने ? भन्नेबारे छलफल गरेर गठबन्धनका शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने नेताहरूले जनाएका छन् । समितिमा गठबन्धनले प्रदेश, जिल्ला र स्थानीय तहमा गठन गरेका संयन्त्रहरूको सम्बन्धित क्षेत्रमा गठबन्धन आवश्यक छ/छैन भन्ने प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

यसअघि गठबन्धनमा स्थानीय तह निर्वाचनमा तालमेल गर्ने सहमति भएको थियो । नेताहरूले २०७४ सालको निर्वाचनको परिणामका आधारमा गठबन्धन गर्ने वा फरक मापदण्ड बनाएर गठबन्धन गर्ने भन्नेबारे छलफल जारी रहेको गठबन्धनका नेताहरुले बताएका छन् ।

सत्ता गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीहरूबीच ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकामा कहाँ कसरी गठबन्धन गर्ने भन्नेबारे छलफल जारी रहेको छ ।

चुनावी तयारी तथा परिचालन समितिमा कांग्रेसको तर्फबाट महामन्त्री गगनकुमार थापा र संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी केन्द्रको तर्फबाट नेताहरु वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीको तर्फबाट महासचिव वेदुराम भुसाल र विजय पौडेल, जनता समाजवादी पार्टीको तर्फबाट अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाका नेता हिमाल पुरी सदस्य रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !