८ बैशाख २०८१, शनिबार

आचारसंहिता लागू हुने पूर्वसन्ध्यामा सरकारले गर्यो २० देशमा राजदूतको सिफारिस


मन्त्रिपरिषद् बैठक बालुवाटार

काठमाडौं । स्थानीय तहको निर्वाचन आचारसंहिता लागू हुने पूर्वसन्ध्यामा सरकारले २० देशमा राजदूतको सिफारिस गरेको छ । आज बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशमा राजदूतको सिफारिस गरेको हो ।

सत्ता गठबन्धनमा रहेका दलहरूको प्रतिनिधित्व हुनेगरी भागबण्डा मिलाएर राजदूतमा सिफारिस गरिएको हो । कतारका लागि जसपा नेता नवराज सुवेदी सिफारिस भएका छन् । मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले बताए ।

सम्भवतः भोलि शुक्रबारदेखि स्थानीय निर्वाचनको आचारसंहिता लागू हुने भएकोले त्यसको एक दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएर राजदूत नियुक्तिको लागि सिफारिस गरेका छन् । निर्वाचनको आचारसंहिता लागू भएपछि सरकारले नियुक्ति, सरुवा, बढुवा लगायतका काम गर्न नपाउने भएकोले प्रधानमन्त्री देउवाले विभिन्न निर्णय र नियुक्तिहरु गरेका हुन् ।

निर्वाचन आयोगको भोलि बस्न लागेको बैठकबाट आचारसंहिता लागू भएको निर्णय र घोषणा गर्ने तयारी गरेको छ । आयोग निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको हो । मन्त्रिपरिषद बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनको निर्वाचन आचारसंहितालाई ध्यानमा राखेर विभिन्न निर्णय र नियुक्तिहरु गरेको हो ।

आज बस्न लागेको मन्त्रिपरिषद्को बैठकले विभिन्न निर्णयहरु र व्यापक रुपमा राजनीतिक नियुक्तिहरुको निर्णय गर्नसक्ने प्रवल सम्भावना रहेको हो । स्थानीय तह निर्वाचनको मतदान मितिभन्दा कम्तिमा ३५ दिन अघिबाट निर्वाचन आचारसंहिता लागू गर्ने प्रचलन रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !