८ बैशाख २०८१, शनिबार

को हुन् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल ?


Dr. Pushpa Kandel डा. पुष्प कँडेल

पृष्ठभूमि र जन्म

राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष डा. पुष्प कँडेलको जन्म २०१२ साल भदौ १५ गते धादिङ जिल्ला बेनिघाट-१, रिचोकटारमा भएको हो । २०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिष्ट राजनीतिमा लागेका कँडेल नेकपा एमालेभित्र लो प्रोफाइलमा रहेर हाइप्रोफाइल पदमा पुगेका हुन् ।

सरकारले २०७५ साल बैशाख ११ गते उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ। आज मंगलबार बसेको मन्त्रिपरिषद बैठकले कँडेललाई योजना आयोगको उपाध्यक्ष बनाउने निर्णय गरेको हो । उनका दुई सन्तान र श्रीमती छन्। उनकी श्रीमती सरकारी जागिरे हुन् ।

शिक्षा

कँडेलले दिल्ली स्कूल अफ इकोनोमिक्सबाट कर्पोरेट ट्याक्सेसन एण्ड इनभेष्टमेन्ट बिहेवियर इन नेपाल विषयमा विद्यावारिधी गरेका हुन् ।

प्राध्यापन

उनले २०४२ सालबाट ठमेलस्थित सरस्वती क्याम्पसमा पढाउन थाले । उनी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका प्राध्यापक थिए । सहप्राध्याकबाट सेवा सुरू गरेका उनले ३० वर्ष विश्वविद्यालयमा पढाए । ३ वर्ष अघि उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन संकायवाट प्राध्यापक पदबाट राजीनामा दिएका थिए ।

राजनीतिक यात्रा

२०२६ सालदेखि झापाली क्रान्तिकारी समूहसँग निकटताबाट कम्युनिष्ट राजनीतिमा लागेका कँडेल एमालेको २०४९ मा सम्पन्न पाँचौ महाधिवेशनबाट केन्द्रीय लेखापरीक्षण कमिटीको सदस्य निर्वाचित भएका थिए । उनी १० वर्षदेखि निरन्तर लेखा परीक्षण आयोगको अध्यक्ष छन् ।

आठौं महाधिवेशनका क्रममा संघीयता र विकेन्द्रीकरणले मुलुकलाई हित गर्दैन भनेर आफ्ना विचार राख्दा संघीयता पक्षधरले उनीमाथि हातपात समेत गरेका थिए । कँडेललाई धादिङ जिल्ला कमिटीले प्रतिनिधिसभाको समानुपातिक सांसदका लागि सिफारिस गरेको थियो ।

अन्य अनुभव

उनले २०५१ सालमा एमाले सरकारमा रहँदा ३ महिना राष्ट्रिय वाणिज्य बैंकको संचालक समिति सदस्य र २०६२/६३ को आन्दोलनपछि नेपाल बैंक लिमिटेडको संचालक समिति सदस्यमा रहेर काम गरेका थिए ।

प्रकाशन

उनका अर्थ व्यवस्था सम्वन्धी १० वटा भन्दा धेरै पुस्तकहरु प्रकाशित छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !