१३ बैशाख २०८१, बिहिबार

ओली र राप्रपा महामन्त्री राणाबीच भेटवार्ता, के होला त चुनावी तालमेल ?


केपी शर्मा ओली र धवल शम्मशेर राणा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शम्मशेर राणाबीच भेटवार्ता भएको छ । नेपालगञ्जको स्नेहा होटलमा हिजो बिहीबार राति दुई नेताबीच भेटवार्ता भएको हो । महामन्त्री राणा नेपालगञ्ज उपमहानगरपालिकाको मेयर समेत हुन् ।

आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनका राजनीतिक दलहरुले तालमेल गरेर एमालेलाई पाखा लगाउने रणनीति बनाएको केही दिनपछि एमाले अध्यक्ष ओली र राप्रपा महामन्त्री राणाबीचको भेटवार्ता हुनुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

सत्ता साझेदार दलहरुले स्थानीयनिर्वाचनमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । सत्ता साझेदार दलका शीर्ष नेताहरुको हिजो बिहीबार बसेको बैठकले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा दलहरु मिलेर जाने निर्णय गरेका हुन् ।

अध्यक्ष ओली र महामन्त्री राणाबीच समसामयिक राजनीतिक परिस्थिति र वैशाखमा हुने स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।

स्थानीय निर्वाचनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको पक्कड दर्बिलो भएको ठाउँमा गठबन्धन गरेर एमालेलाई हराउने रणनीतिमा सत्ता गठबन्धनका दलका शीर्ष नेताहरू रहेका छन् भने यता एमाले गठबन्धन नगरी एक्लै निर्वाचनमा होमिन लागेको छ ।

आमागी स्थानीय चुनाव भनेको काँग्रेस र एमालेको भन्दा पनि एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमालेवाट टुक्रिएर बनेको एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालवीचको अस्तित्वको संघर्षको लागि जुँगाको लडाई हुने देखिएको छ ।

एमाले अध्यक्ष ओलीले हामी एक्लैले चुनाव जित्छौ भनेर विश्वासका साथ जिकिर गरेपनि सत्ता गठबन्धनका दलहरुको तालमेलले गर्दा एमालेलाई निर्वाचन जित्न त्यति सहज भने छैन । एमालेको केही भोट एमालेवाट टुक्रिएर गएको एकीकृत समाजवादी पार्टीले अवश्य काट्नेछ भने यता राप्रपावाट टुक्रिएर गएको कमल थापाको राप्रपा नेपालले काट्ने भएकोले राप्रपासंग तालमेल गर्दा एमाले र राप्रपा दुवै पार्टीलाई फाइदा नै हुने देखिन्छ ।

आगामी स्थानीय निर्वाचनमा एमाले र राप्रपावीच चुनावी तालमेलको बारेमा कुनै बृहत छलफल र निर्णय भई नसकेको वर्तमान परिप्रेक्षमा यसवारेमा हुने निर्णयलाई केही समय कुर्नुपर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !