७ बैशाख २०८१, शुक्रबार

एआईजी बढुवाविरुद्ध सर्वोच्चमा डीआईजी कार्कीद्वारा रिट दायर


सर्वोच्च अदालत

काठमाडौं । नेपाल प्रहरीका तीन जना डीआईजीहरु एआईजीमा बढुवाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । मन्त्रिपरिषद्ले हिजो बिहीबार गरेको निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर भएको हो ।

असन्तृष्ट डीआईजी ईश्वरबाबु कार्कीले बढुवामा मापदण्ड लागु नगरिएको र वरिष्ठताको मापदण्ड मिचिएको भन्दै रिट दायर गरेका हुन् । उनको रिटमा आइतबारका लागि पेशी तोकिएको छ ।

मन्त्रिपरिषद्को निर्णयलाई चुनौति दिंदै डीआईजी कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन् । अन्य दुई डीआईजीहरु घनश्याम अर्याल र प्रकाशजंग कार्कीले ल्याएको रिट निवेदन अध्ययन भइरहेको सर्वोच्च स्रोतले बताएको छ ।

हिजोको मन्त्रिपरिषद्को बैठकले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । यसअघि तीनै जना डीआईजीहरुले बढुवा समितिको निर्णयविरुद्ध लोकसेवा आयोगमा उजुरी दिएका थिए । आयोगले बढुवा समितिको निर्णय नै सदर गरेको थियो ।

बढुवाविरुद्ध कानुनी प्रक्रियामा जाने तीन जनै डीआईजीहरु हालका आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । उनीहरु आईजीपी क्षेत्रीसंगै आगामी १९ वैशाखमा अवकाश पाउनेछन् । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले तीनै जनालाई एआईजीमा बढुवा सिफारिस गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !