१२ बैशाख २०८१, बुधबार

देउवा सरकारमा सहभागी हुने बारेमा लोसपाको तयारी


लोसपा संसदीय दलको बैठक

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको छ । यसअघि सरकारमा सहभागी हुने भन्ने कुरालाई पूर्ण रुपमा स्वीकार गर्न नसकेको लोसपाले देउवा सरकारमा जाने बारेमा गृहकार्य थालेको हो ।

बिगतमा मधेस आन्दोलनका क्रममा लागेका राजनीतिक मुद्दा फिर्ता, नागरिकता अध्यादेश जारी गर्नेसहितका समझदारी गरेर लोसपाले देउवा सरकारमा सहभागी हुने बारेमा तयारी गरेको हो ।

देउवा सरकारमा सहभागिताका लागि लोसपाका शीर्ष नेताहरुले प्रधानमन्त्री देउवासंग पटक-पटक वार्ता गरिसकेका छन् । यद्यपि कुन मन्त्रालय लिने र कति मन्त्रालय पाउने भन्ने बारेमा अझसम्म टुंगो लागिसकेको छैन ।

बाहिर नबताएपनि देउवा नेतृत्वको संघीय सरकारमा सहभागी हुन लोसपा तयार भएको हो । देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने या नहुने भन्ने विषयमा पार्टीमा छलफल गरेर सहभागी हुन लोसपा तयार भएको हो ।

प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको वर्तमान सरकारमा सहभागी लागि सकारात्मक भएर अनुरोध गरेपछि लोसपाले पार्टीमा छलफल गरेर निर्णय लिने भएको हो । देउवाको प्रस्तावपछि लोसपाका केही नेताले स्थानीय तहको चुनावअघि नै सरकारमा सहभागी हुनुपर्ने बताएका छन् ।

पार्टीमा छलफल भएर निर्णय भएपछि कतिवटा मन्त्रालय लिने, कुन कुन मन्त्रालय लिने लगायतको विषयमा लोसपाले प्रधानमन्त्री देउवासँग छलफल गर्ने भएको छ । अहिलेको रिक्त रहेका रक्षा मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय प्रधानमन्त्री देउवाले आफैंसंग राखेका छन् ।

रिक्त रहेका यी दुइ वटै मन्त्रालय लोसपाले पाउने प्रवल सम्भावना रहेको छ । यद्यपि लोसपाले प्रधानमन्त्री देउवासंग चार वटा मन्त्रालय मागेको छ । तर लोसपा तीन मन्त्रालय पाए पनि सरकारमा सहभागी हुन तयार भएको बुझिएको छ ।

यद्यपि लोसपाले सरकारमा सहभागी हुने निर्णय गरेमा मन्त्रिमण्डल पुनर्गठन गरेरै भएपनि सरकारमा सहभागी गराउन देउवा तयार भएका छन् । यसो भएमा सरकारमा रहेका केही मन्त्रीको पद चैट् हुने देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !