७ बैशाख २०८१, शुक्रबार

कांग्रेस केन्द्रीय बैठक आज पनि बस्दै, चुनावी गठबन्धनबारे निर्णय गर्ने


काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । केन्द्रीय कार्यसमितिको बैठक आज सोमबार बिहान ११ः३० बजे पुनः बस्ने काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव पौडेलले जानकारी दिए ।

गत शुक्रबारदेखि शुरु भएको जारी बैठक आज सकिदैंछ । पार्टी प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने प्रवल सम्भावना रहेको छ ।

हिजोको बैठकमा चुनावी तालमेल गर्ने बारेमा पक्ष र विपक्षमा फरक-फरक धारणा आइरहेपनि पार्टीले आवश्यकताको सिद्धान्तानुसार तालमेलको पक्षमा निर्णय लिने रणनीतिमा काँग्रेस रहेको देखिन्छ ।

सबैभन्दा धेरै चासोको विषयको रुपमा रहेको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रलाई सघाउने कि नसघाउने भन्ने विषयमा पनि आजको बैठक तार्किक निष्कर्षमा पुग्ने बुझिएको छ ।

काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता स्थानीय निर्वाचनमा गठबन्धनको पक्षमा देखिएका छन् भने नेता डा. शेखर कोइराला समूह भने गठबन्धनको विपक्षमा देखिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राख्ने क्रम जारी छ । शुक्रबार प्रारम्भ भएको बैठकमा हिजो आइतबार पनि स्थानीय तह निर्वाचनको तयारी एवं ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको प्रारम्भिक समीक्षा, संसदीय समिति गठनलगायत विषयमा छलफल भएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीका लागि कांग्रेसले गत फागुन २९ देखि यही चैत २९ गतेसम्म पहिलो चरणको घरदैलो अभियान सञ्चालन गरिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !