१३ बैशाख २०८१, बिहिबार

माओवादीलाई सिध्याएर विदेशीले नेपालमा दुई दलीय व्यवस्था ल्याउन चाहेका छन् : प्रचण्ड


प्रचण्ड बिराटनगरमा चुनावमा जाने सोच

विराटनगर । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘विदेशी शक्ति’हरू नेपालमा दुई दलीय व्यवस्था ल्याउन लागि परेको दाबी गरेका छन् ।

आज आइतबार विराटनगरमा आयोजित पार्टीको प्रदेश-१ स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीलाई सिध्याएर दुई दलीय व्यवस्था ल्याउन विदेशी शक्ति लागिपरेको खुलासा गरेका हुन् । यद्यपि कुन विदेशी शक्तिले त्यसो गरिरहेको भन्नेबारे भने उनले केही खुलाएनन् ।

उक्त षड्यन्त्र असफल पार्न आफ्नो दलले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन जित्नैपर्ने प्रचण्डको भनाइ छ । उनले माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोशिश भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने बताए ।

उनले चुनाव ब्याटललाई सामान्य रुपमा नलिन कार्यकर्ताहरुलाई आग्रह समेत गरे । माओवादीलाई घेराबन्दी गरेर कमजोर पार्ने कोसिस भए फेरि कठोर संघर्षको बाटोमा जानुपर्ने अवस्था आउन सक्ने भन्दै त्यसका लागि तयार रहन प्रचण्डले कार्यकर्तालाई निर्देशन दिए।

प्रचण्डले पहिलो संविधानसभा निर्वाचनपछि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाएर आफूबाट गल्ती भएको कार्यकर्तामाझ स्वीकार गरे । यस्तै रुक्मांगद कटवाललाई प्रधानसेनापतिबाट हटाउन डा. बाबुराम भट्टराई र रामबहादुर थापा ‘बादल’ले अनावश्यक दबाब दिएको प्रचण्डले बताए ।

तीन महिनामा कार्यकाल सकेर घर जान लागेका कटवाललाई चलाउँदा माओवादीले सरकारको नेतृत्वसहित धेरै विषय गुमाएको स्मरण उनले गरे । त्यो समयमा प्रचण्ड प्रधानमन्त्री थिए भने बाबुराम अर्थ तथा बादल रक्षामन्त्री थिए ।

उनले २०७४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा र मधेस केन्द्रित दलका नेता बारम्बार आफ्नो निवास खुमलटार आएर पाँच वर्षका लागि एकलौटी प्रधानमन्त्री बन्न आग्रह गर्दासमेत बामगठबन्धनको भावनाअनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाएको बताए ।

तर, चार वर्षमै आफूले पटकपटक बुढानिलकण्ठ गएर देउवालाई प्रधानमन्त्री बनिदिन आग्रह गर्नुपर्ने अवस्था आउनुलाई उनले विचित्रताको संज्ञा दिए । देउवालाई प्रधानमन्त्री बन्नका लागि मनाउन आफूलाई हप्तौ लागेको उनले सुनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !