१३ बैशाख २०८१, बिहिबार

पृथ्वी जयन्तीमा सरकारले बिदा नदिएकोमा कमल थापाको गम्भीर आपत्ति


कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सरकारले पृथ्वी जयन्तीमा बिदा नदिएकोमा गम्भीर आपत्ति प्रकट गरेका छन् ।

पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा सरकारले सार्वजनिक बिदा नदिने भएपछि सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै अध्यक्ष थापाले गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन् ।

थापाले सरकारले सार्वजनिक गरेको २०७९ मा दिईने विदामा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवसलाई समावेश नगरेकोमा खेद प्रकट गरेका छन् ।

उनले नेपाली नाम र पहिचान दिने महापुरुषको सम्मान गर्न कन्जुस्याइँ र हिनताबोध नगर्न सरकारलाई आग्रह गर्दै राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिन अनुरोध समेत गरेका छन् । यद्यपि सरकारले पृथ्वी जयन्ती मनाउने निर्णय भने गरेको छ ।

बाइसे चौबीसे राज्यलाई एकीकरण गरी एउटै राज्य नेपाल बनाउन सफल राष्ट्र एकीकरणका नायक पृथ्वीनारायण शाहको योगदानलाई कदर गर्न नसक्नु गणतन्त्र स्थापना भएपछि बनेका सरकारको महाभूल हो । हामीलाई नेपाली नाम, पहिचान र देश दिने राष्ट्रनिर्माताले राष्ट्रिय एकता, स्वतन्त्रता र अखण्डतालाई सदैव अक्षुग्ण राख्न सफल भएका थिए ।

अध्यक्ष थापाले ट्वीटरमा लेखेका छन्, ‘सरकारले सार्वजनिक गरेको २०७९ मा दिईने विदामा राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको जन्मजयन्ती र राष्ट्रिय एकता दिवसलाई समावेश नगरेकोमा खेद प्रकट गर्दछु।नेपाली नाम र पहिचान दिने महापुरुषको सम्मान गर्न कन्जुस्याइँ र हिनताबोध नगरौँ।राष्ट्रिय एकता दिवसमा सार्वजनिक विदा दिईयोस् ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !