१२ बैशाख २०८१, बुधबार

सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट


सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटन नेतृत्वको प्रतिनिधिमण्डल बीच शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको भेटमा सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच ७३ बर्ष देखिको कुटनीतिक सम्बन्ध सुमधुर र उदाहरणीय रहेको बताए ।

उहाँले कोभिड १९ विरुद्ध लड्न फ्रान्सले चिकित्सा क्षेत्रमा र कोभ्याक्स अन्तरगतको सहयोगका लागि फ्रान्स सरकार र फ्रान्सेली जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो । सभामुख सापकोटाले नेपालको आर्थिक र सामाजिक विकासमा फ्रान्सको सहयोगका लागि आभार व्यक्त गर्दै कोभिड पछिको आर्थिक पुनरुत्थानमा सहयोग रहने विश्वास व्यक्त गरे ।

सभामुख सापकोटाले नेपाल र फ्रान्सबीच पर्यटन, कृषि र व्यापारको क्षेत्रमा थप सहकार्यको सम्भावना रहेको चर्चा गरे । उनले नेपालले सन् २०२६ मा कम विकसित राष्ट्रको स्थितिबाट स्तरोन्नतिका लागि दुई देश बीचको साझेदारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

स्वतन्त्रता, समानता र भातृत्वका विषयमा नेपाल र फ्रान्सको समान दृष्टिकोण रहेको बताउँदै उनले दुई देशबीचको सम्बन्धलाई जनस्तरसम्म पुर्याउनु पर्नेमा जोड दिए । जलवायु परिवर्तनका कारण सृजित समस्या सम्बोधनका लागि फ्रान्सको भूमिका महत्वपूर्ण हुने बताउँदै सभामुख सापकोटाले सन् २०१५ को पेरीस सम्झौता स्मरणीय रहने बताए ।

शान्तिका लागि सहकार्य र समझदारी आवश्यक रहेको बताउँदै उनले भने, ‘बुद्धको देशको सभामुखको हैसियतले भन्छु, विश्व शान्तिका लागि सबैले आ-आफ्नो स्थानबाट पहल गरौं ।’
सभामुख सापकोटा र फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलबीच शिष्टाचार भेट भेटमा फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रिटनले आफ्नो टिमलाई नेपालमा गरिएको आतिथ्यताका लागि आभार व्यक्त गर्दै सम्मानित महसुस गरिरहेको बताए । दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि छलफल गरेर क्षेत्र छनौट गर्न सकिने उनको भनाई थियो ।

प्रतिनिधिमण्डलमा सहभागी अन्य सदस्यहरुले फ्रान्सको तल्लो सदन नेसनल एसेम्ब्लीले गरेका अभ्यासहरुबारे जानकारी गराउँदै दुई पक्षीय भ्रमण आदान-प्रदानबाट दुबै संसदका लागि सिकाइको अवसर हुने धारणा राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !