११ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभाकाे बैठक शुरु, कार्यसूचीमा चढ्यो महाभियोग प्रस्ताव


एमसिसी अनुमोदन

काठमाडौं । प्रतिनिधिसभाकाे बैठक शुरु भएको छ । संघीय संसद सचिवायलद्वारा भर्खरै सार्वजनिक गरिएको कार्यसूचीमा महाभियोग प्रस्ताव समावेश गरिएकोले प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने भएको हो ।

सभामुख अग्नि प्रसाद सापकोटाले नेपालको संविधानको धारा १०१ को उपधारा (३) र (४) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६२ बमोजिमको महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

संसद सचिवायलद्वारा सार्वजनिक गरिएको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची आज दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७/०७८ पेश गर्ने कार्यतालिका रहेको छ ।

आजको प्रतिनिधिसभाको बैठकअघि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको प्रतिनिधिसभाको बैठकमा छलफल गरी प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावको कार्यसूचीमा समावेश गर्ने निर्णय गरेको थियो ।

यसअघि फाल्गुन १८ गते बुधबार कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका थिए ।

प्रतिनिधिसभाको १८ गते बसेको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको व्यवस्थानुसार प्रस्ताव अघि बढ्ने जानकारी दिएका थिए । उनले हाम्रो नियमावलीको व्यवस्थानुसार महाभियोग प्रस्ताव दर्ता भइसकेपछि ७ दिनपछिको कुनै पनि बैठकमा राख्ने भन्ने रहेको पनि जानकारी दिएका थिए ।

प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावका लागि ११ जनाको महाभियोग सिफारिस समिति बन्ने कानुनी व्यवस्था रहेको छ । यसको बस्तुगत आधारसमेत तयार गरेर पुनः संसद्मा निर्णयार्थ ल्याउनका लागि तीन महिनाको समय पाउने पनि उनले जानकारी दिएका थिए ।

सत्तारुढ गठबन्धन दलले फागुन १ गते प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग प्रस्ताव दर्ता गरेको थियो । यद्यपि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले महाभियोग प्रस्तावका विषयमा शुरुमा पनि कुनै जानकारी नदिइएको र अहिलेसम्म पनि कुनै छलफल नभएको बताएको छ ।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल एमाले भने आज पनि अनुपस्थित रहेको थियो । सभामुख सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले भने अनुपस्थित हुँदै आएको छ ।

एमालेले आफूले कारबाही गरेका १४ जना संसदलाई निष्काशन गरेको सूचना टाँस्नुपर्ने वा सभामुख सापकोटाले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै संसदको बैठक अवरोध जारी राख्दै आएको छ । यता प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले संसद यसरी नै अवरोध हुँदै आउने हो भने निर्वाचनमा जानुपर्ने संकेत गरेका छन् ।

यता नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता कृष्णबहादुर महराले सत्तारुढ गठबन्धनको सहमतिबाटै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि महाअभियोगको प्रस्ताव संसदमा दर्ता भएको बताएका छन् ।

यस्तो छ हेर्नुहोस् प्रतिनिधिसभाकाे आजको बैठकको कार्यसूची

प्रतिनिधिसभाकाे आजको बैठकको कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !