११ बैशाख २०८१, मंगलबार

माओवादीको केन्द्रीय समितिको बैठक आज पनि बस्दै


माओवादी केन्द्रीय समिति बैठक फाइल फोटो

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ । यसअघि फाल्गुन २० गते शुक्रबार बसेको बैठक आज बिहान ११ बजे बस्ने गरी स्थगित भएको थियो ।

आज आइतबारसम्म थप तयारी गरेर आगामी कार्यदिशा तय गरिने माओवादी नेतृत्वले जनाएको छ । बैठकले केन्द्रीय सदस्य थप्ने र पार्टीमा रिक्त रहेका अध्यक्षबाहेकको पदपूर्ति गर्ने तथा स्थायी कमिटी, पोलिटब्युरो पनि गठन गर्ने भएको छ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको बारेमा रिपोर्टिङ गर्नुका साथै बैठकले स्थानीय निर्वाचनको रणनीति पनि तय गर्नेभएको छ । बैठकमा समसामयिक राजनीतिक विषय, हालै प्रतिनिधिसभाबाट पारित भएको अमेरिकी सहयोग सम्झौता एमसिसी, पार्टीका नेताहरुको पद विभाजन लगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीको सम्बन्धमा पछिल्लो पटक आफूले लिएको निर्णय देश र जनताको हितमा रहेको बताएका थिए । प्रतिमगन विरुद्धको अभियानका क्रममा गठन भएको गठबन्धनसमेत टुट्ने अवस्था आएपछि एमसिसीका सम्बन्धमा व्याख्यात्मक घोषणा गररै भए पनि सहमति जुटाइएको र देशलाई जोगाउन सफल भएको उनको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले माओवादी परिमार्जन विना एमसिसी पास गर्ने पक्षमा नभए पनि गठबन्धनलाई जोगाउनका लागि व्याख्यात्मक घोषणा गर्न सहमत भएको एवं एमाले र सो पार्टीका अध्यक्ष केपी ओलीको चाहना गठबन्धन भत्काउनेतर्फ केन्द्रित भएकाले त्यसलाई रोकिएको स्पष्ट पारेका थिए ।

एमसिसीका कारण गठबन्धनभित्र विवाद भए पनि त्यसलाई अन्तिममा मिलाइएको र गठबन्धन जोगिएको अध्यक्ष प्रचण्डको भनाइ रहेको थियो । व्याख्यात्मक घोषणासहितको एमसिसी अमेरिकाले स्वीकार गरेको दाबी गर्दै उनले कार्यान्वयनको क्रममा कुनै समस्या देखिए त्यसलाई सूचना दिएर एकतर्फी रुपमा खारेज गर्न सकिने धारणा राखेका थिए ।

प्रचण्डले नेपालको सार्वभौमिकतालाई कमजोर पार्ने कुनै पनि व्यवस्था र प्रावधान स्वीकार गर्न नसकिने बताएका थिए । प्राकृतिक स्रोतसाधन नेपालको बाहेक अरुको हुन नसक्ने भन्दै लेखापरीक्षण लगायतका विषय नेपालले नै गर्न पाउनुपर्छ भन्नेमा सहमत भएको भन्दै माओवादी बिनै एमसिसी पारित गर्नका लागि सभामुखलाई महाभियोग लगाउने तयारी भएकाले आफूहरु व्याख्यात्मक घोषणाका लागि तयार भएको उनको भनाइ थियो ।

व्याख्यात्मक टिप्पणीबारे विज्ञहरुसँग पनि लामो छलफल गरेको स्मरण गर्दै अन्तरराष्ट्रिय सम्बन्धका जानकारले दिएको सुझावका आधारमा निष्कर्ष निकालिएको अध्यक्ष प्रचण्डको भनाइ थियो । शान्ति प्रक्रिया टुङ्गिएको अवस्था भएको भए एमसिसीका बारेमा फरक प्रकारको निर्णय लिन सकिने अवस्था आउने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियालाई टुङ्गोमा पुग्न नदिन अझै पनि षड्यन्त्र भइरहेको बताएका थिए ।

अस्तिको बैठकमा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टी निर्णय विपरीत गएर एमसिसी सम्झौता अनुमोदन गर्दा त्यसबाट राम्रो प्रभाव नपरेको धारणा राखेका थिए । उनले एमसिसीका सम्बन्धमा गरिएको निर्णयले पार्टीलाई क्षति पुर्याउने बताएका थिए । नेता श्रेष्ठले पार्टी कठिन मोडमा पुगेको भन्दै यस्तो बेला सोच विचारपूर्ण निर्णय गर्नुपर्ने उल्लेख गरे । बैठकमा पार्टी निर्णय विपरीत एमसिसी अनुमोदन गरिएको भन्दै केही नेताले फरक मत राखेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !