१३ बैशाख २०८१, बिहिबार

पार्टीभित्र छलफलपछि गठबन्धनले चुनावी तालमेलबारे निर्णय गर्ने


सत्ता गठबन्धन बैठक

काठमाडौं । सत्तारुढ गठबन्धनले चुनावी तालमेलका बारेमा आ-आफ्ना दलभित्र आन्तरिक छलफल गरेर निर्णय गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको चार दलीय गठबन्धनको बैठकमा चुनावी सहकार्यका विषयमा छलफल गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावी तालमेलबारे सत्ता गठबन्धनमा रहेका दलहरूले आन्तरिक छलफल गरेपछि गठबन्धनले निर्णय लिने बताएका हुन् ।

आज बिहीबार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि निर्णयबारे जानकारी दिँदै उनले गठबन्धन देशमा स्थायित्व कायम गर्न गठन गरिएकोले अब पनि निरन्तरता दिएर अघि बढ्ने बताए ।

बैठकले संसदमा महत्वपूर्ण विधेयकहरु अड्किएकाले एमालेलाई सदन अवरुद्ध नगर्न आग्रह गर्दै नागरिकता विधेयक र हवाई उड्ययन विधेयक संसदमा गम्भिर छलफल गर्नुपर्ने विधेयक रहेको कार्कीले बताए ।

सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएपछि चार दलको बैठक बसेको थियो । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मा मात्रै जनमोर्चाको फरक मत रहेकाले अन्य निर्णय प्रक्रियमा उक्त दल पनि सहभागी हुने प्रवक्ता कार्कीले दाबी गरे ।

एमसीसीका विषयमा मात्रै राष्ट्रिय जनमोर्चाको फरक मत रहेकाले सरकारलाई दिएको समर्थन कामय रहने र पुनः पाँचदलीय गठबन्धन बन्ने उनको भनाइ छ । एमसीसी सम्झौता अनुमोदन भएसँगै जनमोर्चा गठबन्धनबाट अलग भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !