१२ बैशाख २०८१, बुधबार

मसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु शुभ सङ्केत होइन : विवेकशील


विवेकशील साझा पार्टी

काठमाडौं । विवेकशील साझा पार्टीले एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु नेपालका लागि शुभ सङ्केत नभएको बताएको छ ।

पार्टीले विज्ञप्ति जारी गर्दै सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु शुभ सङ्केत नभएको उल्लेख छ।

विज्ञप्तिमा एमसीसी कम्प्याक्ट सम्झौतालाई गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाइनुले नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको पनि उल्लेख गरिएको छ ।

प्रेस विज्ञप्ति

एमसीसीमा अब थप राजनीति नहोस्
एमसीसी कम्प्याक्ट सम्झौतालाई अत्यन्त गिजोलेर चरम सत्ता दाउपेचको विषय बनाउँदै अन्ततः कुनै संवैधानिक तथा कानुनी हैसियत नहुने व्याख्यात्मक टिप्पणीको लेपन लगाएर अनुमोदन गरिएबाट नेपाली राजनीति कति रसातलमा बहिरहेको छ भन्ने प्रस्ट भएको छ।
विगतमा बारम्बार जसरी राष्ट्र हितलाई मध्यनजर राखेर होइन, निहित राजनीतिक स्वार्थहरूका कारण कयौँ गम्भीर निर्णयहरू लिइएका छन्, त्यसै गरी, एमसीसी पनि निहित राजनीतिक स्वार्थहरूका कारण नै पारित भएको छ। संसद्मा देशको हितबारेको बहस गौण हुनु र सत्ता समीकरण प्रधान हुनु अत्यन्तै चिन्ता र खेदजनक विषय हो।
सत्ता गठबन्धन र प्रतिपक्षी दलको अपरिपक्व र गैह्र जिम्मेवारीपूर्ण शैली एवम् संवेदनशील समयमा प्रदर्शित उत्ताउलो रवैयाका कारण चीन र अमेरिकाको अस्वाभाविक सक्रियता बढेर एमसीसी पेचिलो भूराजनीतिक मुद्दा बन्न पुग्नु हाम्रोजस्तो मुलुकका लागि शुभ सङ्केत होइन।
तर अबका दिनहरूमा एमसीसीमाथि थप राजनीति गर्नु भनेको बढ्दो रूपमा संवेदनशील बन्दै गएको नेपालको भूराजनीतिक जटिलतालाई अझ बल्झाउनु हो। त्यस्तो काम अब कसैबाट पनि हुनु हुँदैन।
एमसीसी सम्झौतामाथि हालैका वर्षमा जे जति बहस र राजनीति भए, त्यसले भविष्यमा विदेशी ऋण-अनुदान लिनु र सन्धि-सम्झौता हुनु पूर्व गरिनु पर्ने गृहकार्य र देखाउनु पर्ने सुझबुझलाई निर्देशित गर्न सक्यो भने त्यो देशका लागि फलदायी हुनेछ।
आधा भरिएका नैतिकताहीन ढ्वाङहरूको स्वार्थ केन्द्रित नेतृत्व कायम रहेसम्म हामी एकपछि अर्को विभिन्न किसिमका काण्डमा फसिनै रहने छौँ। अतः आगामी निर्वाचनले त्यस्तो नेतृत्वलाई फाल्न दिने मौकाको भरपुर सदुपयोग गर्न विवेकशील साझा पार्टी देशभक्त आम नेपाली नागरिकलाई हार्दिक अपिल गर्दछ।
विवेकशील साझा पार्टीले आम रूपमा उठेका प्रश्नहरूको सम्बोधनसहित आवश्यक संशोधनबिना एमसीसी सम्झौता यथारूपमा पारित गरिनुहुन्न भन्ने मान्यता विगतमा पटक पटक स्पष्ट रूपमा राख्दै आएको पुन: स्मरण गराउन चाहन्छौँ।
शरदराज पाठक
प्रवक्ता, विवेकशील साझा पार्टी
१६ फागुन, २०७८


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !