७ बैशाख २०८१, शुक्रबार

सडकको आवाज संसदले सुन्नुपर्छ : झलनाथ खनाल


झलनाथ खनाल संसदमा

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले सडकको आवाज संसदले सुन्नुपर्नेमा ध्यानकर्षण गराएका छन् । एमसीसीको बिपक्षमा बाहिर सडकमा चर्को विरोध भई रहेकोले सो आवाजलाई पनि ध्यान दिन उनले आग्रह गरेका हुन् ।

अर्थमन्त्री जनार्दन शर्माले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झौता संसदवाट पारित गर्न छलफलका लागि पेश गरेपछि उक्त छलफलमा भाग लिंदै नेता खनालले यस्तो बताएका हुन् ।

उनले विगतमा आफू प्रधानमन्त्री हुँदा एमसीसी अघि बढेको भन्ने आरोपलाई खण्डन गर्दै त्यो नभएको पनि स्पष्टीकरण दिएका छन् । खनालले सांसदहरुलाई एमसीसी सम्झौता पारित नगर्न आग्रह समेत गरेका छन् ।

खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई राम्ररी अध्ययन गरेरमात्र संसदवाट पारित गर्नुपर्नेमा जोड दिए । उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुखमार्फत माग गरेका छन् ।

नेता झलनाथ खनालले दुरगामी महत्व राख्ने सम्झौताका बारेमा छलफल गर्दा सबैको सहमति हुँदा उत्तम हुने उल्लेख गर्दै एमसिसी सम्झौताका विस्तृत विवरण हेरेर मात्र छलफल हुनुपर्ने धारणा व्यक्त गरे । साथै उनले एमसिसी सम्झौताका बारेमा आफू नेतृत्वको सरकारका पालामा कुनै प्रक्रिया नभएको सपष्ट पार्दै मुलुक र जनताका हितविपरीतका सर्त मान्य नहुने बताए ।

सत्तारुढ दलले एमसिसीका सम्बन्धमा गरेको व्याख्यात्मक टिप्पणीका सम्बन्धमा जिज्ञासा राख्दै उनले त्यसको कार्यान्वयन गर्ने कानूनी आधार के हुने भनी प्रश्न गरे । साथै यथास्थितिमा एमसिसी सम्झौता अनुमोदन गर्न नसकिने उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !