११ बैशाख २०८१, मंगलबार

प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगविरुद्ध सर्वोच्चमा रिट दायर


चोलेन्द्रशमशेर जबरा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि लगाइएको महाभियोग प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरु पुण्य खतिवडा, दीपक मिश्र, त्रिलोक विक्रम चन्द लगायतले रिट दायर गरेका हुन् ।

रिटमा महाभियोग प्रस्ताव असंवैधानिक र गैरकानुनी भन्दै खारेज गरी प्रधानन्यायाधीश राणालाई पद बहाल गराई काममा फर्काउन माग गरिएको छ । रिटमा संवैधानिक अधिकारसम्बन्धी विषय भएकाले यो संवैधानिक इजलासमा दर्ता भएको हो । संवैधानिक इजलास सञ्चालनमा आएपछि यो मुद्दामा सुनुवाइ अघि बढ्नेछ ।

शक्ति पृथकीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश जबरामाथि महाभियोग लगाइएको भन्दै उनीहरूले संघीय संसद् सचिवालय, सभामुख लगायतलाई विपक्षी बनाई महाभियोग प्रस्ताव खारेजीका लागि अन्तरिम आदेश, उत्प्रेषण, परमादेश आदिको माग दाबी गरेका थिए ।

हिजो बुधबार साँझ दर्ता भएको उक्त रिटमाथि संवैधानिक व्याख्याको आवश्यकता रहेको भन्दै उक्त रिटलाई संवैधानिक इजलासमा पठाइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले बताए ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीका ९८ जना सांसदले फागुन १ गते संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरे सँगै प्रधानन्यायाधीश जबरा निलम्बनमा छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !