१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


शेरबहादुर देउवा र केपी शर्मा ओली बालकोट फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार आज मंगलबार साँझ करिब साँझ ६:३० बजे प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटार पुगेका हुन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदमा टेवुल भईसकेको सन्दर्भमा यसलाई पास गर्ने कि नगर्ने भन्ने बारेमा सत्तापक्ष र विपक्ष दलहरूवीच चरम विवाद भई रहेको बेला दुई प्रमुख पार्टीका दुई शीर्ष नेताबीच बालुवाटार भेटवार्ता हुनुलाई राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।

प्रधानमन्त्री देउवा र अध्यक्ष ओलीवीच भएको भेटवार्तामा एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपहासचिव विष्णु पौडेल पनि सहभागी भएका छन् । देउवा र ओलीवीच मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने, एमसिसी अनुमोदन गर्नेलगायत विषयमा छलफल भइरहेको बताइएको छ ।

सत्तारुढ गठबन्धनमा एमसीसी संसदवाट पास गर्ने वारेमा सहमति नभएपछि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागिरहेका छन् । सत्ता गठबन्धनका रहेका दुई दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले एमसीसीको विपक्षमा मतदान गर्ने भएपछि कांग्रेसले गठबन्धनमा रहेर विपक्षमा मतदान गर्ने हो भने सरकार छाड्नुपर्ने बताउदै आएको छ ।

यसअघि यही फागुन ६ गते ओलीको निवास बालकोटमा श्रीमती डा. आरजु देउवाका साथ प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता भएको थियो । एमसीसीलाई लिएर सत्ता गठबन्धनमा विभाजन आइरहेका बेला प्रधानमन्त्रीले लगातार एमाले अध्यक्ष ओलीसँग संवाद बढाएका छन् ।

प्रतिनिधिसभामा यही फागुन ८ गते एमसीसी प्रस्तुत भएपछि सत्तारूढ दलहरुबीच त्यसलाई पारित गराउन घनिभूत छलफल भइरहेको छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा एमसीसी पारित गराउन सक्रियताका साथ लागेका छन् ।

ओलीले भने सत्ता गठबन्धन तोडेपछि मात्र कांग्रेससँग अरु विषयमा सहकार्य हुन सक्ने अडान राख्दै आएका छन् । आज ओली र देउवाबीचको वार्तालाई विशेष महत्वका साथ हेरिएको छ । दुई नेताहरुवीच संसदवाट एमसीसी पास गर्ने बारेमा सहमति भएमा राजनीतिको पासा पल्टिएर काँग्रेस र एमालेको गठबन्धन बन्न सक्नेछ भने माओवादी र एकीकृत समाजवादी देउवा सरकारवाट नैतिक रुपमा पनि हट्नुपर्ने स्थिति सिर्जना हुनसक्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !