१३ बैशाख २०८१, बिहिबार

मधेस प्रदेशसभाको बैठक आज बस्दै, संकल्प प्रस्तावमाथि छलफल हुने


प्रदेश नं २

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी संकल्प प्रस्तावमाथि छलफल हुनेछ ।

गत माघ २६ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सो सङ्कल्प प्रस्ताव पेश गर्नुभएको थियो । सो बैठकमा प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादव, रवीन्द्र बैठा, जगतप्रसाद यादव, जैनुल राइन, परमेश्वर साह, शिवचन्द्र चौधरी, नरेशकुमार यादव, अभिराम शर्मा, किशोरी साह (कमल), रीना यादव, रामअशिष यादवलगायतले सरकारद्वारा ल्याइएको सङ्कल्प प्रस्तावमाथि आ-आफ्ना धारणा राखेका थिए ।

यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो ।

भ्यूटावर निर्माणका लागि सम्भाव्यता अध्ययन

धनुषाको मुखियापट्टी गाउँपालिकाको मुसहरनियाँमा भ्यूटावर निर्माणका लागि मधेस प्रदेश सरकारले सम्भाव्यता अध्ययन गरेको छ । देशकै सबैभन्दा होचो स्थान मुखियापट्टी मुसहरनियाँमा भ्यूटावर बनाउन प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्भाव्यता अध्ययन गरेको हो ।

मन्त्रालयले मुसहरनियाँमा भ्यूटावरसहित वनभोजस्थलका रूपमा विकास गर्नका लागि अध्ययन सुरु गरेको भौतिक पूर्वाधार विकासमन्त्री रामरोज यादवले जानकारी दिए । मन्त्रालयको प्राविधिक टोलीसहित नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिको टोलीले मुसहरनियाँ पुगेर सोमबार स्थलगत सम्भाव्यता अध्ययन गरेको मन्त्रालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !