७ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रले एमसीसीको विपक्षमा मतदान गर्छ, सरकारबाट बाहिरिन्छौं : देव गुरुङ


देव गुरुङ

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) ले संसदमा टेवुल भएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विपक्षमा मतदान गर्ने भएको छ ।

काठमाडौँमा आज सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले आफ्नो पार्टीले एमसीसीको विपक्षमा मत हाल्ने स्पष्ट पारेका हुन् ।

उनले आफ्नो पार्टीले दोहोरो चरित्र नदेखाउने पनि बताए । नेता गुरुङले पार्टीले सरकारबाट बाहिरिने पनि निर्णय गरिसकेकोले अब कुन दिन बाहिरिने भन्ने मात्रै रहेको पनि सुनाए । उनले एमसीसी कसैलाई पनि बलिको बोको बनाउने विषय नभएको जिकिर गरे ।

एमसीसीको बारेमा विगत कालदेखि नै आफूहरुले विरोध जनाएको उनको भनाई छ । उनले आर्थिक सहायता सम्झौता सरकारले टुँगो लगाउने भएकोले एमसीसीलाई आर्थिक सहायता सम्झौताको रुपमा परिमार्जन गर्ने र संशोधन गर्न सकिने हो भने यसलाई अंगिकार गर्न सकिने पनि उल्लेख गरे ।

आफूहरुले एमसीसी टेबुल गर्ने विषयमा पनि आपत्ति जनाएको र कार्यव्यवस्था परामर्श समितिको बैठकमा फरक मत राखेको बताए । राष्ट्रिय स्वार्थलाई प्रतिकुल बनाउने प्रावधान राखिएकोले यो सम्झौता संशोधन गरेर राष्ट्रिय हितअनुकुल बनाईएमात्रै अघि बढाउन सकिन्छ भनेर तत्कालिन नेकपा कालमा भनेको उनले स्मरण समेत गरे ।

एमसीसी सम्झौतामा एमसीसीको झण्डामा प्लेन वा गाडी आएपनि कुनै चेकजाँच गर्न पनि नपाउने र के सामान ल्यायो ? के लग्यो ? भनेर चेक गर्न नपाउनेखालका प्रावधान राखिँदा नेपालको सार्वभौम अधिकार पनि खण्डित हुने गुरुङको भनाई छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !