८ बैशाख २०८१, शनिबार

समाजलाई ध्रुवीकरण हुनबाट रोक्न एमसिसी कार्यसूचीमा राखिएको सभामुखको स्पष्टीकरण


प्रतिनिधिसभाको विशेष बैठक

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौता’लाई सदनमा प्रस्तुत गर्ने विषयलाई लिएर उठेका आवाजका आधारमा नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न कार्यसूचीमा समावेश गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले एमसिसी सम्झौता कार्यसूचीमा समावेश गरेका विषयमा फरक धारणा राखेपछि उनले राष्ट्रिय महत्वका विषयवस्तुलाई बृहत छलफल गरिनु उपयुक्त हुन्छ भनी समावेश गरिएको बताए ।

एमसीसी संसदमा टेवुल गर्नुअघि सभामुख अग्निप्रसाद सापकोटाले विगत लामो समयदेखि जारी अवरोधका कारण संसद सुचारु हुन नसकिरहेकोले यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयामहरुमा प्रभाव परिरहेको बताएका छन् । उनले राष्ट्रिय महत्वका विषयवस्तुहरुलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकुलता सिर्जना गरेको भनेर उनले एमालेप्रति संकेत गरेका हुन् ।

“विगत लामो समयदेखि जारी अवरोधका कारण संसद् सुचारु हुन सकिरहेको छैन, यसबाट राज्य सञ्चालनका सम्पूर्ण पक्ष र आयाममा प्रभाव परिरहेको छ”, सभामुख सापकोटाले भने । राष्ट्रिय महत्वका विषयवस्तुलाई समेत छलफलमा ल्याई निष्कर्षमा पुग्नुपर्ने अवस्थामा जारी अवरोधले थप प्रतिकूलता सिर्जना गर्ने भन्दै उनले सदनमा छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगका लागि अपिल गरे ।

उनले दलका शीर्ष नेताहरु, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, बुद्धिजिवी एवं लब्धप्रतिष्ठित व्यक्ति व्यक्तित्वहरुको भावनाको समेत सम्मान गर्दै नेपाली समाजलाई थप ध्रुवीकरण हुनबाट रोक्न पनि राष्ट्रिय महत्वका विषयवस्तुलाई कार्यसूचीमा समावेश गरी छलफल गरिनु उपयुक्त हुन्छ भन्ने लागेका हुँदा अहम् महत्वका विषयहरुलाई आजको कार्यसूचीमा समावेश गरिएको बताए ।

उनले सोही मान्यतालाई आत्मसात् गर्दै छलफलको वातावरण बनाउन सम्बद्ध सबैलाई सहयोगको लागि अपिलका साथ कार्यसूचीलाई अगाडि बढाउन सहयोग हुने आशा एवम् विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !