८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, कार्यसूचीमा परेन एमसीसी


एमालेद्वारा संसद अवरुद्ध

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक आज दिउसो १ बजे बस्न लागेको हो ।

संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा आज बस्न लागेकाे प्रतिनिधिसभा बैठकमा बहुचर्चित तथा विवादित अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई समावेश गरिएको छैन ।

सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समावेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने मात्रै समावेश गरिएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले आज बस्ने प्रतिनिधिसभाको बैठकअघि कार्यव्यस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा संसद् बैठकको कार्यसूचीबारे छलफल हुनुका साथै संसदमा जारी अवरोध हटाउने विषयमा छलफल हुने बताइएको छ ।

यद्यपि आजको बैठकमा एमसीसी सम्झौता प्रस्ताव टेवुल हुने काँग्रेस नेताहरूले बताएका थिए । सरकारले आजको बैठकमा एमसीसी सम्झौता टेबल गर्ने तयारी गरेको छ ।

सत्ता गठबन्धनमा सहमति नहुँदा एमसीसी टेबल हुन सकिरहेको छैन । सरकारले फागुन १६ गतेभित्र एमसीसी टुङ्गो लगाउनै पर्ने दबाब प्रधानमन्त्री शेरबहादुर देउवासामू छ ।

यसअघि फाल्गुन ६ गते शुक्रबार बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले बैठक प्रारम्भ हुनासाथ ‘रोस्ट्रम’ घेराउ गर्दै नाराबाजी गरेकोले सभामुख सापकोटाले संसद्को आज दिउसो १ बजे बस्ने गरी स्थगित गरिएको जानकारी गराएका थिए ।

एमालेका सांसदहरुले ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संसदीय मर्यादा कायम गर’ भन्ने जस्ता नारा लगाएका थिए । आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

यस्तो छ हेर्नुहोस् आज बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची

सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !