११ बैशाख २०८१, मंगलबार

२०७३ पछि मैले गम्भीर राजनीतिक भूल गरेँ, माफी माग्छु : कमल थापा


कमल थापा

काठमाडौँ । कमल थापाले २०७३ सालपछि आफूले गम्भीर राजनीतिक भूल गरेँकोले माफी मागेका छन् । राप्रपा नेपाल पार्टीका अध्यक्ष थापाले उक्त पार्टीको आधिकारिक घोषणासभामा पछिल्लो ५ वर्ष धेरै गल्ती गरेँको स्विकार गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित राप्रपा नेपाल घोषणा सभालाई सम्बोधन गर्दै थापाले आफूले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई नफुटाएको दाबी समेत गरेका छन् । लाक्पा लामाले केही समयअघि राप्रपा नेपालको अध्यक्ष पद थापालाई हस्तान्तरण गरेका थिए ।

अध्यक्षमा राजेन्द्र लिङ्देनसँँग पराजित भएपछि राप्रपा परित्याग गरेका थापाले आफू ५ वर्षको अलमलपछि आफ्नो घर (राप्रपा नेपाल) फर्किएको बताए । थापाले राप्रपा नेपाललाई पुनर्जागृत गरेको बताउँदै कार्यकर्ता र नेताहरूलाई आह्वान गरेका हुन् ।

उनले विगतका गल्ती कमजोरीहरू सच्याउँदै नयाँ ऊर्जा र गतिका साथ अघि बढ्ने संकल्प गरेका बताउदै यो नयाँ यात्रामा सबैको सहयोग र सद्भावको निम्ति अपिल गरेका छन् । विगतमा सँगै काम गरेका साथीहरूलाई यो यात्रामा साथ दिन र सहभागी हुन उनले आह्वान गरेका छन् ।

निर्वाचन आयोगले उक्त पार्टीको अद्यावधिक गरिसकेको छ । राप्रपा नेपालले आफ्नो मूल राजनीतिक एजेन्डा सम्बर्द्धनवाद, सुशासन र समृद्धि लिएको छ । राप्रपामा लिङ्देनसँग पराजित भएसँगै थापाले पार्टी परित्याग गरेका थिए ।

राप्रपा नेपाल हाल ६१ सदस्यीय गठन गरिएको छ । यसलाई बढाएर १५१ सदस्यीय बनाइने छ । नेतृत्व गरेको हिजोको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेको थियो । राप्रपा त्यागेर पुन: राप्रपा नेपाल गठन गरेका थापाले राजतन्त्रको मुद्दा अब नबोक्ने भएका छन् ।

उनको पार्टीले हिन्दु राष्ट्रको एजेन्डा भने बोक्ने भएको छ । राप्रपामा पराजित भएपछि थापाले हारको दोष निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहलाई लगाउँदै छानबिन गर्न माग राखेका थिए। तर, छानबिन नहुने भएपछि थापाले पार्टी नै त्यागेका थिए ।

थापाले राप्रपा फुटाउँदिनँ भनी २०७६ साल फागुन २९ गते गीतामा हात राखेर कसम खाएको पनि सम्झिए । राप्रपाको हारलाई सहृदयताका साथ स्वीकार गरेर नयाँ अध्यक्षलाई बधाइ, शुभकामना दिँदै आफूले एउटा माग मात्रै राखेको थापाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !