८ बैशाख २०८१, शनिबार

प्रतिनिधिसभाको बैठक शुरु, एमालेले आज पनि संसद अवरोध जारी राख्ने


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । केही समयअघि मात्र प्रतिनिधिसभाको बैठक शुरु भएको हो । सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले यस्तो निर्णय सुनाएका हुन् ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री शेरबहादुर देउवावीच अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आज संसदमा टेवुल नगर्ने सहमति भएको छ ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा सरकारले एमसीसी सम्झौता प्रस्ताव टेबल गर्ने तयारी गरेको थियो तर प्रचण्ड र देउवाको सहमति भएसंगै टेवुल नहुने भएको हो ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा प्रधानमन्त्रीले थारू आयोगको प्रतिवेदन पेश गर्ने र तीन पूर्वसांसदको निधनमा शोक प्रस्ताव पारित गर्ने विषयमा मात्र समेटिएको छ ।

माओवादी केन्द्रले एमसीसी राष्ट्रिय सहमति बिना जबरजस्ती संसदमा अघि बढाइए सोको विपक्षमा मतदान गर्ने निर्णय र सरकारबाट बाहिरिन सक्ने संकेत गरेलगत्तै अध्यक्ष प्रचण्ड प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।

कांग्रेसले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । हिजो नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !