१३ बैशाख २०८१, बिहिबार

समयमै स्थानीय तहको निर्वाचन गर्न नेपाल बारको अपिल


नेपाल बार एसोसिएसन

काठमाडौँ । नेपाल बार एशोसिएशनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गर्न सरकारसँग अपिल गरेको छ ।

बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा समयमै सबै स्थानीय तहको निर्वाचन गरी लोकतन्त्रको रक्षा र सम्बद्र्धन गर्ने कार्यमा लाग्न सरकार तथा सम्बन्धित सबैसँग अपिल गरिएको छ ।

“कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन”, विज्ञप्तिमा भनिएको छ,“कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुन विपरीत मात्र नभइ लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ ।”

नेपालको संविधानले स्थानीय तह, प्रदेश संसद् र सङ्घीय संसद्, राष्ट्रियसभा लगायतका निकायको आवधिक निर्वाचनको व्यवस्था गरेको छ । त्यस्ता निकायको शून्यताको परिकल्पना संविधान र निर्वाचनसम्बन्धी कानुनले गरेका छैनन् ।

“वालिग मताधिकारको आधारमा आवधिक निर्वाचनबाट नै वास्तविक लोकतन्त्रको रक्षा र सम्बद्र्धन हुने कुरामा कसैको दुईमत हुन सक्दैन”, प्रेस विज्ञप्तिमा भनिएको छ, “हाल स्थानीय तहको अवधि समाप्त हुन लागेको र यसको नियमित निर्वाचन गर्नुपर्ने विषयमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !