१३ बैशाख २०८१, बिहिबार

संवैधानिक प्रावधानअनुसार समयमै निर्वाचन गर्ने राष्ट्रपतिसमक्ष देउवाको प्रतिबद्धता


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज अपराह्न राष्ट्रपति भवन शीतलमा समसामयिक विषयमा छलफल भएको छ । शीतल निवासमा अपरान्ह ३ बजेदेखि १ घण्टा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवाको सचिवालयले भेटलाई नियमित भनेपनि स्थानीय तह चुनावको मिति घोषणाबारे सत्तारुढ गठबन्धनमा जारी छलफलबीच भएको भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रुपमा लिइएको छ ।

सो अवसरमा उनीहरूबीच बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचन, कोभिड-१९ नियन्त्रण गर्न सरकारले गरेका प्रयास, स्थानीय निर्वाचन तथा अन्य समसामयिक विषयमा विचारविमर्श भएको थियो ।

“सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्रीबीच अपराह्न ३ बजेदेखि करिब एकघण्टा भेटवार्ता भयो, यो नियमित भेट हो”, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भेटबारे जानकारी दिँदै भने ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री देउवालाई शीलत निवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् ।

स्थानीय निर्वाचनबारे राजनीतिक दलहरूसँग छलफल भइरहेको जानकारी दिँदै प्रधानमन्त्री देउवाले संविधानको कार्यान्वयनमा सरकार पूर्ण प्रतिबद्ध रहेको तथा संवैधानिक प्रावधानअनुसार समयमै निर्वाचन गर्ने दृढता व्यक्त गरेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !