१३ बैशाख २०८१, बिहिबार

सिके राउतका कार्यकर्ताद्वारा मेयरको गाडी तोडफोड, १८ सेल अश्रुग्यास प्रहार


सिके राउतका कार्यकर्ताद्वारा प्रदर्शन

जनकपुर। सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले सर्लाही हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं चढ्ने गाडी नियन्त्रणमा लिएर तोडफोड गरेका छन् ।

जनकपुरधाममा भइरहेको राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान गर्न पुगेका मेयर प्रसाईको प्रदेश २–०३००१ झ ००२० नम्बरको गाडी सिके राउतका कार्यकर्ताले तोडफोड गरेका हुन् ।

राउतको पार्टीका नेता-कार्यकर्ताहरूले आज बिहानैदेखि जनकपुरधाममा प्रदर्शन गरिरहेका छन् । बिहान करिब सवा १० बजे राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान केन्द्र जाने बाटोमा प्रवेश गर्न खोज्दा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको थियो ।

उक्त पार्टीका कार्यकर्ताहरूले बिहानैदेखि ‘पहिले खाद देऊ, अनि भोट खसाऊ’ भन्दै जनकपुरका विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरूले मधेश विगत एक महिनादेखि आन्दोलित रहेपनि माग पूरा गर्न चासो नदेखाएको र मधेसमा आएर निर्वाचन गरिरहेकाले विरोध गरेको जनाएको हो ।

प्रहरीले स्थिति नियन्त्रणमा लिन १८ सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रशाशन कार्यालय धनुषा स्रोतले जानकारी दिएको हो । प्रदर्शनकारीहरू मतदान बिथोल्ने हिसाबले उक्त बाटोमा प्रवेश गर्न खोज्दा सुरक्षाकर्मीले अर्को बाटोमा जान अनुरोध गरेको थियो ।

सो क्रमममा सामान्य झडप भएको थियो । प्रहरीले लाठीचार्ज पनि गरेको प्रदर्शनकारीहरूले बताएका छन् । अहिले स्थिति सामान्य भइ सकेपनि अर्को ठाउँमा उनीहरूले प्रदर्शन जारी राखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !