१३ बैशाख २०८१, बिहिबार

देउवाले बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिस्कार, ओलीले पत्रकार सम्मेलन गर्ने


सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । चुनावबारे छलफल गर्नका लागि भनिएपनि स्थानीय तहको निर्वाचन नगर्ने नियतले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने एमालेले बताएको छ ।

सर्वदलीय बैकठ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान साढे ९ बजे बस्दैछ । उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् ।

सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले हिजो शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए । यसअघि पनि एमालेले सत्ता गठबन्धनले बोलाएको सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचन लगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !