११ बैशाख २०८१, मंगलबार

नेपालको भौगोलिक अखण्डतामाथि अतिक्रमण बन्द गर्न भारतलाई माओवादीको चेतावनी


नेकपा माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले भारतलाई नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डताको सम्मान गर्न आग्रह गरेको छ । माओवादी केन्द्रले लिपुलेकमा सडक विस्तारबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति आफ्नो धारणा सार्वजनिक गरेको हो ।

माओवादी केन्द्रका नेता एवम् अन्तरराष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक बिस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गरेका हुन् ।

माओवादी केन्द्रले भारतलाई पञ्चशील सिद्धान्तको अवलम्बन गर्न र नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप तथा अतिक्रमण बन्द गर्न चेतावनी दिएको छ । विज्ञप्तिमा भनिएको छ, “हामी भारतीय पक्षलाई सबैको र नेपालको सार्वभौम अधिकार एवम् भौगोलिक अखण्डतामाथि हस्तक्षेप एवम् अतिक्रमण नगर्न जोडदार माग गर्दछौँ ।”

माओवादी केन्द्रले लिपुलेक प्रकरणमा भारतीय प्रधानमन्त्री मोदीले दिएको अभिव्यक्तिबारे नेपाल सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएकोमा दुःख लागेको जनाएको छ । त्यसबारेमा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नेता श्रेष्ठले भनेका छन्, “नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको बिरोध जनाओस् र यो कार्य बन्द गराउन शिघ्रातिशिघ्र कूटनैतिक पहल गरोस् ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !