१३ बैशाख २०८१, बिहिबार

लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा गगन-विश्वप्रकाशले जनाए कडा आपत्ति


गगन थापा र विश्वप्रकाश शर्मा

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा कडा आपत्ति प्रकट गरेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज शुक्रबार विज्ञप्ति जारी गर्दै एकपक्षीय रुपमा नेपाली भूमिमा सडक निर्माण लगायतका भारतीय पक्षको गतिविधि आपत्तिजनक रहेको भन्दै मुख खोलेका हुन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ भनेर केहिदिन अघि एक कार्यक्रममा व्यक्त गरेको भनाइप्रति काँग्रेसले ध्यानाकर्षण भएको जनाएको हो ।

जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको बिषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’

यस्तै लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि भएको र यसका सम्बन्धमा नेपाली कांग्रेसले विगत देखिनै संस्थागत रुपले आफ्नो धारणा र अडान स्पष्ट रुपमा राख्दै आएको उनीहरुले स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने बिषयमा नेपाली कांग्रेस प्रष्ट रहेको पनि उल्लेख गरिएको छ । यस्तै कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने पनि माग गरिएको छ ।

दुई राष्ट्र बीचको सीमा सम्बन्धी कुनैपनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्ने स्पष्ट गर्दै विश्व र गगनले भनेका छन्, ‘१८१६ को सुगौली सन्धिको दस्तावेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रष्ट छौं ।’

उक्त विज्ञप्तिमा भनिएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर केही दिनअघि एक कार्यक्रममा व्यक्त गर्नुभएको भनाइप्रति नेपाली कांग्रेसको ध्यानाकर्षण भएको छ । लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो।’

यस्तो छ गगन-विश्वप्रकाशले निकालेको विज्ञप्ति

यस्तो छ गगन-विश्वप्रकाशले निकालेको विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !