११ बैशाख २०८१, मंगलबार

ताप्लेजुङमा थेबे, दोलखामा श्रेष्ठ र बैतडीमा पाल निर्वाचित


भुपेन्द्र थेबे

काठमाडौँ । नेकपा एमाले पार्टीको ताप्लेजुङ जिल्ला समितिको अध्यक्षमा भुपेन्द्र थेबेले बलबहादुर साम्सोहाङलाई ५६ मतले पछि पार्दै विजयी भएका छन् ।

जम्मा ६३५ मतमध्ये थेबेले ३२९ मत प्राप्त गरेका थिए भने साम्सोहाङले २७३ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा सन्तोष खतिवडा, सचिवमा केसरकुमार मेन्याङबो तथा उपसचिवद्वयमा मणि पोमु र दीपेन पोमुले विजयी हुनुभएको थियो ।

दोलखामा श्रेष्ठ

नेकपा एमाले दोलखा जिल्लाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा उनले प्रत्याशी भरतप्रसाद दुलाललाई २२५ मतअन्तरले पराजित गरेका थिए । उपाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा हिरा थोकर, उपसचिवमा धमेन्द्र मोक्तान, कमला बस्नेत र सुन्दर कार्की निर्वाचित भए ।

जिल्लाभरका ८३२ प्रतिनिधिमध्ये ८०७ मत खसेकामा श्रेष्ठले ५०९ मत प्रप्त गरेका थिए भने दुललाले २८४ मत प्राप्त गरेका थिए । निर्वाचित भएपछि पद तथा गोपनीयताको शपथ लिदै अध्यक्ष श्रेष्ठले पार्टीलाई विधिवत् रुपमा सञ्चालन गरी साङ्गठनिक, आर्थिकलगायत सबै क्षेत्रमा मजबुद बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।

बैतडीमा पाल

यसैगरी बैतडीमा पुनः सुरेन्द्र पाल अध्यक्षमा निर्विरोध चयन भएका छन् । पाटनमा सम्पन्न आठौँ जिल्ला अधिवेशनले पाललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

उपाध्यक्षमा रमिल बम, सचिवमा चक्र कार्की, उपसचिवमा लोकेन्द्र भण्डारी र सरस्वती नेपाली निर्वाचित भए । अध्यक्ष पालको नेतृत्वमा ९० सदस्यीय जिल्ला कमिटी पनि गठन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !