७ बैशाख २०८१, शुक्रबार

यी हुन् माओवादीमा थारु समुदायवाट केन्द्रीय सदस्य बनेका ११ जना 


माओवादी महाधिवेशन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को हिजो निर्वाचित केन्द्रीय समितिमा थारु समुदायबाट ९ जना केन्द्रीय समितिमा निर्वाचित भएका छन् । त्यसमा सन्तकुमार चौधरी, हरिनारायण चौधरी, देवीलाल चौधरी रहेका छन् ।

थारु युवाबाट अमनलाल मोदी थारु र थारु महिलाबाट रुपा चौधरी, अञ्जना चौधरी, अञ्जु चौधरी, दीपा चौधरी र कृष्णा चौधरी निर्वाचित भएका छन् । त्यस्तै खुल्लाबाट नेपबहादुर चौधरी, इन्द्रजित थारु निर्वाचित भएका छन् । यस आधारमा हेर्दा थारु समुदायबाट ११ जनाले केन्द्रीय समितिमा उपस्थिति पाएको छ ।

अध्यक्ष प्रचण्डको एकाघरबाट छोरी रेणु दाहाल, भाइ नारायण दाहाल र बुहारी बिना मगर पनि केन्द्रीय समितिमा अटाएका छन् । माओवादीले शनिबार पारित गरेको विधानअनुसार सबै वर्ग तथा समुदायको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति चयन गरेको दाबी गरेको छ । माओवादीले त्यसलाई ‘इन्द्रेणी’ प्रतिनिधित्वको नाम दिएको थियो ।

विधानअनुसार खुला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिएको छ । केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था छ । कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारू, मधेशी, आदिवासी, जनजाति, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टरअनुसार नै केन्द्रीय समिति निर्वाचित भएको छ ।

केन्द्रीय समितिमा सबै क्लस्टर र खुलाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्षमुनिका युवाको प्रतिनिधित्व गराइएको छ । मनोनित गर्न बाँकी रहेकामा सो व्यवस्थालाई पूर्णरूपमा लागू गरिने माओवादीको दाबी छ ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार समानुपातिकतर्फको खस आर्यतर्फ ४५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था विधानमा गरिएको छ ।  त्यसमा पुरुष १२ जना, ४० वर्षभन्दा कम उमेर समूहका तीन जना, महिला २४ जना र ४० वर्षभन्दा कम उमेर समूहका महिला छ जना निर्वाचित हुनेछन् । आज घोषणा गरिएका थप गर्नुपर्ने भए केन्द्रीय समितिले थप गर्नेछ ।

यस्तै पहिलोपटक दलित समुदायलाई १५ प्रतिशत बराबरको हिस्सा प्रदान गर्ने जनाएको माओवादीले आज घोषणा गरेको केन्द्रीय समितिमा भने १६ जना मात्रै निर्वाचित गरेको छ । माओवादीले अल्पसङ्ख्यकका रूपमा रहेका मुस्लिम समुदायका लागि सात जनाको सिट सुरक्षित गरेको बताएकामा आज निर्वाचित केन्द्रीय समितिमा हकिकुल्लाह मुसलमान र कौसर साह मात्रै अटाएका छन् । बाँकी ५ जना भने मनोनयका क्रममा थप गरिनेछ ।

महिला, आदिवासी, जनजाति, मुस्लिम, थारू समुदायलाई अधिकार सम्पन्न गराउने गरी विधानमा व्यवस्था गरिएको नेता गुरुङले जानकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !