१३ बैशाख २०८१, बिहिबार

कांग्रेसमा उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्ने जिम्मा सभापति देउवालाई


शेरबहादुर देउवा

काठमाडौँ । नेपाली कांग्रेसले आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट खडा गरिने उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको आज बसेको प्रथम बैठकले सो निर्णय गरेको हो । बैठकले राष्ट्रियसभा सदस्य पदको निर्वाचन प्रयोजनका लागि नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनबमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्ने र सोसम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा गर्न केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति देउवाको सभापतित्वमा भएको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकले महाधिवेशनमा प्रकट भएको उत्साह, एकता र रुपान्तरणको गहिरो भावना आत्मसात गर्दै इतिहासले सुम्पिएको जिम्मेवारीलाई एकताबद्ध ढङ्गले सम्पादन गर्ने सङ्कल्प र दृढता व्यक्त गरेको छ ।

बैठकले जननायक बिपी कोइरालाको विचार, सुवर्णशम्शेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत अग्रज नेतृत्वको अनवरत सङ्घर्ष र सफल नेतृत्वप्रति उच्च सम्मान व्यक्त गर्दै सङ्घर्ष र सफलताको अनेक चरणमा सहादत प्राप्त गरेका योद्धाहरुप्रति असीम श्रद्धा व्यक्त गर्ने निर्णय गरेको छ ।

महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गरेकामा निवर्तमान केन्द्रीय कार्यसमिति, महाधिवेशन तयारी मूल समिति, अर्थ सङ्कलन समिति, भोजन तथा आवास व्यवस्थापन समिति, स्वदेशी तथा विदेशी पाहुना, स्वागत तथा व्यवस्थापन समिति, प्रचार–प्रसार समिति, उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समिति, स्वास्थ्य समिति, सांस्कृतिक समिति र स्वयंसेवक व्यवस्थापन समितिलाई बैठकले धन्यवाद ज्ञापन गरेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

यसैगरी बैठकले देशभरको क्रियाशील सदस्यताको छानबिन गरी नवीकरण गर्ने र नयाँ सदस्यता प्रदान गर्ने कार्यको टुङ्गो लगाउन गठित केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिलाई धन्यवाद ज्ञापन गरेको छ । वडा तहदेखि केन्द्रसम्म पार्टीको सङ्गठनात्मक संरचनाको निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण जिम्मेवारी सम्पादन गरेकामा केन्द्रीय निर्वाचन समिति र देशभर खटिनुभएका केन्द्रीय निर्वाचन समितिका प्रतिनिधिप्रति पनि बैठकले धन्यवाद प्रकट गरेको छ ।

कांग्रेसले पार्टीको स्थानीय वडा अधिवेशनदेखि केन्द्रीय महाधिवेशनसम्म निरन्तर सहयोग पुर्याई यो अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सबै सुरक्षा निकाय, स्थानीय तहदेखि केन्द्रीय महाधिवेशनलाई अत्यन्त महत्वका साथ निरन्तर प्रसारण र प्रकाशन गरी आम स्रोता तथा पाठकहरूलाई सुसूचित बनाउन अहोरात्र खट्नुहुने स्वदेशी तथा विदेशी सबै सञ्चारमाध्यमप्रति धन्यवाद प्रकट गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !