११ बैशाख २०८१, मंगलबार

प्रचण्डको प्रधानमन्त्री देउवालाई सुझाव : ओली नआए हामी नै बालकोट जाऔं

प्रचण्ड दावी : एमाले तेस्रो पटक संसद् विघटन होस् भन्ने चाहन्छ, हामी त्यसो हुन दिन्नौँ


प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमाले छलफलबाट भाग्न खोजिरहेकाले आफूहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट गएर संवाद गर्न सुझाव दिएका छन् ।

प्रथम राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा आज सम्पादकसँग गरिएको अन्तक्र्रियामा बोल्दै प्रचण्डले प्रधानमन्त्री देउवासमक्ष ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव राखेका हुन् । महत्वपूर्ण विषयमा छलफल गर्न सरकारले बोलाएको सर्वदलीय बैठकमा एमाले सहभागी नभएको उल्लेख गर्दै उनले आफूले प्रधानमन्त्रीलाई ओलीसँग छलफल गरौँ भनेको बताए ।

“प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभयो, तर प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्रीले बोलाएको बैठकमा आउनुहुन्न, पटक–पटक प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउने र प्रमुख प्रतिपक्षी नआउने”, अध्यक्ष प्रचण्डले भने, “मैले त एकपटक प्रधानमन्त्रीलाई भनेँ, प्रधानमन्त्रीजी अब उहाँ आउनुहुन्न, त्यस्तै हुनुहुन्छ । हाम्रो के लाग्यो ? तपाईं र म नै बालकोट जाऔँ । यो सदन पनि यसरी रोकिदिनुभएन भनौँ । देशका अरु विषय पनि हल गरौँ भनेको छु ।”

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को निरन्तरको अवरोधका कारण पुनःस्थापित प्रतिनिधिसभाले गति लिन सकेको छैन । पुनःस्थापित प्रतिनिधिसभाको नवौँ र दसौँ अधिवेशनमा एमालेको अवरोध कायमै छ । एमाललेले वर्तमान प्रतिनिधिसभाको पूरा कार्यकालसम्म संसद् अवरोधलाई निरन्तरता दिने सङ्केत गरिरहेको छ ।

प्रतिनिधिसभामा अवरोध जारी रहँदा जनजीविकाका सवाल ओझेलमा परेका छन् । नागरिकता विधेयक, निजामती विधेयकलगायत जनतासँग प्रत्यक्ष जोडिएका विषय निष्कर्षमा नपुग्दा जनतामा नैराश्यता बढेको छ ।

प्रतिनिधिसभाको कामकारबाहीलाई व्यवस्थित बनाउन, संसद्मा देखिएको गत्यारोध अन्त्यका लागि सभामुख तथा सरकारले गरेको प्रयत्नलाई एमालेले असहयोग गर्दै आएको छ । सदनमा हुँदै आएको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेर एमालेले आफूले गरेको संसद् विघटनलाई ‘जायज’ पुष्टि गर्न खोजिरहेको छ ।

मुलुकका जल्दाबल्दा समस्यालाई समाधान गर्न प्रधानमन्त्रीले बोलाउनुभएको सर्वदलीय बैठक पनि एमालेले बहिष्कार गरिरहेको छ । प्रतिपक्ष सरकारसँग संवादमा आउन नचाहिरहेको चर्चा सार्वजनिक हुन थालेको छ । वर्तमान राजनीतिक परिस्थितबाट मुलुकलाई निकास दिन संसद्को सबैभन्दा ठूलो दल एमालेसँग निर्णायक छलफल गर्ने सत्ता गठबन्धनको तयारी छ ।

लगातार संसद् अवरुद्ध गरेर एमालेले फेरि पनि संसद् विघटन होस् भन्ने चाहेको उनको भनाइ थियो । “एमाले अध्यक्ष ओलीले तेस्रो पटक संसद् विघटन गर्न खोजिरहेका छन् । पहिलोपटकको विघटन सडकबाट बदर गर्यो । दोस्रो पटकको विघटन अदालतबाट बदर गर्यो । तेस्रो पटक पनि प्रयास भइरहेको छ । हामी हुन दिन्नौँ”, उनले भने ।

परिवर्तनकारी शक्ति एक हुनुपर्छ

अन्तक्र्रियामा माओवादी अध्यक्ष दाहालले सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तनकारी शक्ति एक हुनुपर्ने बताए । माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी गठबन्धनमा रहेको उल्लेख गर्दै उनले गठबन्धनभन्दा बाहिर रहेका पार्टीसँग पनि आगामी निर्वाचनमा मोर्चा बनाउने र एकता गर्ने विषयमा कुराकानी भइहरहेको बताए ।

ढिलोचाँडो माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) एक हुनसक्ने उनको भनाइ थियो । “माधव नेपाल र हामी ढिलोचाँडो एक ठाउँमा हुन्छौँ, हामी यसअघि पनि आफैँ छुट्टिएका हैनौँ”, उनले भने ।

माओवादी एमसिसीको विरोधी होइन

अध्यक्ष दाहालले दातृ राष्ट्रको सहयोग लिने विषयमा माओवादीको कुनै असहमति नरहेको बताए । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताभित्र रहेका विषयमा जनताले उठाएका चासोलाई निरुपण गर्नुपर्ने भन्दै उनले एमसीसीका विविध पक्ष केलाउन गठबन्धनले कार्यदल बनाएर अध्ययन थालेको बताए ।

“माओवादी एमसीसीको विरोधी होइन तर जनताले नै बहस चाहेको हुनाले संशोधन गर्नुपर्ने विषय संशोधन गरेर अगाडि बढ्नुपर्छ भनिएको हो”, उनले भने, “तीन सदस्यीय टोलीले अहिले अध्ययन गरिरहेको छ । आएको सुझावअनुसार नै अगाडि बढ्छ ।” यसअघि पनि विभिन्न दातृ राष्ट्र तथा निकायले दिएको सहयोग नेपालले लिँदै आएको स्मरण गराउँदै अध्यक्ष दाहालले एमसीसी सम्झौतामा उठेका प्रश्नको भने निरुपण हुनुपर्ने बताए ।

सत्ता गठबन्धनले एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य रहेको कार्यदल गठन गरेका छन् । कार्यदलले प्रारम्भिक छलफल थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !