८ बैशाख २०८१, शनिबार

पोखरेलले भने, ‘प्रधानमन्त्री एक्लैले निर्णय गर्ने हो भने अरु मन्त्री किन चाहियो’


lilamani-pokhrel

२७ चैत, काठमाण्डौ । नेकपा माओवादी केन्द्रवाट सरकारमा सहभागी भएका मन्त्रीहरूले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशौली प्रति असन्तुष्टि व्यक्त गरेका छन् । सोमवार ललितपुरको खुमलटारस्थित ’प्रचण्ड’ निवासमा पुगेर माओवादीका मन्त्रीहरूले अध्यक्षसँग असन्तुष्टि पोखेका हुन् ।

नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले प्रमुख सत्ता साझेदारसँग सल्लाह नगरी प्रधानमन्त्री केपी ओलीले निर्णय गर्ने गराउने गरेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता पोखरेलले ३० जना सचिव सरुवा गराउँदा मन्त्रीपरिषदका सदस्यलाई थाहा नै नदिइ गरिएको भन्दै प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति असन्तुष्टी जनाए ।

“प्रधानमन्त्रीले यस्तो कार्यशैली सच्याउनुभएन भने, एउटै पार्टीभित्र त सल्लाह गर्नुपर्छ । अहिले त फरक फरक पार्टीवीचको सरकार हो । प्रधानमन्त्रीले सहकार्य गर्नुपर्छ । सहमति गरेर निर्णय गर्नुपर्छ ।” उनले भने ।

“प्रधानमन्त्री एक्लैले निर्णय गर्ने हो भने अरु मन्त्री किन चाहियो । एक्लैले मन्त्रीमण्डल चलाए भइहाल्यो नि ।” पोखरेलले भने ।

प्रधानमन्त्रीले हस्तक्षेप गरेको अरोप पोखरेलको छ । तर यही कारणले दुई पार्टीवीचको सम्बन्धमा समस्या नआउने उनले बताए ।

तर यस्ता व्यवहार थपिदै गएको खण्डमा भने समस्या आउने सक्ने उनको भनाई छ ।

अध्यक्ष दाहालसँगको भेटमा पनि मन्त्रीहरूले सचिव सरुवा देखि अन्य कार्यशैलीको विरोध गरेका थिए ।

सरकारले सचिवहरू सरुवा गर्दा माओवादीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई जानकारी नै नदिइएपछि असन्तुष्टी बढेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ३० जना सचिवको सरुवा गरेको थियो । सचिव सरुवाको विषयमा कुनै पनि छलफल नै नगरी प्रधानमन्त्री ओलीले एकलौटी रूपमा निर्णय गरेको भन्दै माओवादी केन्द्रका मन्त्रीहरूले प्रधानमन्त्रीको आलोचना गरेका थिए ।

प्रधानमन्त्री ओलीले सरकारका कार्यक्रममा एमालेका मन्त्री र नेताहरूलाई मात्र सहभागी गराउने गरेको आरोप माओवादी मन्त्रीहरूले लगाएका छन् ।

दुई साता अगाडि प्रधानमन्त्रीले विदेशी नियोगका प्रमुखसँग भएको व्रिफिङमा समेत माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई सहभागी गराएका थिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई पोखरेलले सद्भाव भ्रमणको रुपमा व्याख्या गरे । विगतमा चिसिएको सम्बन्ध सुधारका लागि मात्रै भ्रमण गरिएको पोखरेलको दाबी छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नेपालमा नाकाबन्दी गरेपछि विगिएको अन्तर्राष्ट्रिय छवी सुधार गर्न लागि ओलीलाई स्वागत गर्न हतारिएको पोखरेलेको भनाई छ ।

समग्रमा भने ओलीको भारत भ्रमणका कारण नेपाल र नेपालीको अहित नभएको उनको बुझाई छ ।

भारतबाट रेल सेवा विस्तारको सहमति चिनलाई दिइएको चुनौति मात्रै भएको पोखरेलको भनाई छ ।

“संयुक्त विज्ञप्तिमा त्यो कुरा आएको छ । दुई पक्षीय सम्झौता भएको छैन । नेपालमा चिनिया पक्षले केरुङ–लुम्बिनी हुँदै काठमाण्डौसम्म रेल जोड्ने प्रतिवद्धता जाहेर गरेर अध्ययन पनि सुरु गरेको छ । त्यसको जवाफमा भारतीय पक्षले चिनको कदम रोक्नका लागि दिएको सन्देश हो ।” पोखरेलले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !