८ बैशाख २०८१, शनिबार

बालुवाटारमा प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक शुरु


सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । आज आइतबार अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बैठक बोलाएको बैठक शुरु भएको हो ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई समेत बोलाइएको छ । देउवाको सचिवालयका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि आज सर्वदलीय बैठक बोलाइएको हो ।

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाल सहभागी हुने भएकोले नेकपा एमालेका अध्यक्ष केपी ओली नजाने भएका छन् । प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकमा नेकपा (एस) सहभागी हुने भएकोले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उक्त बैठक बहिस्कार गर्ने भएको हो ।

नेकपा विभाजनदेखि नै ओली र नेपालको पानी बाराबारको जस्तो सम्वन्ध छ । ओली उपस्थित हुने कार्यक्रम नेपालले बहिस्कार गर्दै आएका छन् भने नेपाल उपस्थित हुने कार्यक्रम ओलीले बहिस्कार गर्दै आएका छन् । एमालेले कारवाही गरेका नेकपा (एस) का सांसद सहभागी हुने बैठकमा आफूहरु सहभागी नहुने एमालेले बताएको छ ।

यसअघि पनि नेकपा एसको सहभागी भएको सर्वदलीय बैठक एमालेले बहिस्कार गरेको थियो । एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिश गरिएकामा सभामुखलले त्यसको सुनुवाइ नगरेको आरोप लगाउँदै एमालेले संसद बैठक पनि अबरुद्ध गर्दैै आएको छ ।

सभामुखको भूमिका र सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी (एस) को सहभागिताको विषयमा आपत्ती जनाउँदै एमालले सर्वदलीय बैठक बहिष्कार गर्दै आएको छ। एमाले बैठकमा सहभागी नहुने भएपछि सर्वदलीय बैठक औपचारिकतामा मात्र सिमित हुने देखिएको छ ।

यद्यपि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक बस्नुअघि सत्‍ता गठबन्धनको बैठक पनि बसेको थियो । सर्वदलीय बैठकमा पेश हुने एजेन्डाको बारेमा साझा धारणा बनाउन सत्ता गठबन्धनको बैठक बसेको थियो ।

प्रधानमन्त्री देउवाको संयोजकत्वमा बसेको बैठकका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्ष वेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव सहभागी भएका थिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेको कारण संसदको नियमित कामकारबाही सुचारु रुपले संचालन हुन नसकेकोले उक्त गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्री देउवाले पहल शुरु गर्न लागेका हुन् ।

गत शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।

बालुवाटार विशेष स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न पनि लागेका हुन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री निवास बालुवाटारमा सत्‍ता गठबन्धनको बैठक जारी

बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि किन सत्‍ता गठबन्धनको बैठक बस्‍दैछ ?

माधव नेपाल सहभागी हुने सर्वदलीय बैठकमा केपी ओली नजाने

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्दै


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !