६ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्दै


सर्वदलीय बैठक फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । आज आइतबार अपराह्न ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवाले बैठक बोलाएको बैठक बस्ने भएको हो ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार सर्वदलीय बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरुलाई समेत बोलाइएको छ । देउवाको सचिवालयका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि आज सर्वदलीय बैठक बोलाइएको हो ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेको कारण संसदको नियमित कामकारबाही सुचारु रुपले संचालन हुन नसकेकोले उक्त गतिरोध अन्त्य गरेर संसद्लाई सुचारु गर्न प्रधानमन्त्री देउवाले पहल शुरु गर्न लागेका हुन् ।

गत शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको थियो । बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका थिए ।

बालुवाटार विशेष स्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा बैठक सञ्चालन र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौता अनुमोदनको विषयमा संसदमा भएका दलहरुसँग छलफल गर्न पनि लागेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !