८ बैशाख २०८१, शनिबार

वाग्मतीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार : पाँच मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ


वाग्मतीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । पाण्डेले आज ५ जना मन्त्री र १ जना राज्यमन्त्री थप गरेका हुन् ।

गठबन्धनमा रहेका दलमध्ये पाण्डेले नेकपा (माओवादी केन्द्र) का तर्फबाट ३ जना मन्त्री र १ जना राज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट २ जना मन्त्री नियुक्त गरेका हुन् ।

पाण्डेले नेकपा (माओवादी) का तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका छन् भने एकीकृत समाजवादीका वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपछीमन्त्री र इन्द्रमाया गुरुङलाई कृषि तथा पशुपछी राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई र मुख्यमन्त्री पाण्डेले राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !