७ बैशाख २०८१, शुक्रबार

काँग्रेस सभापतिमा शेरबहादुर देउवा पुन: निर्वाचित


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन् । काठमाडौँमा भएको काँग्रेसको १४औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का प्रतिद्वन्दी उम्मेदवार डा. शेखर कोइरालालाई हराएर देउवा विजय भएका हुन् ।

देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् । सभापति देउवा प्रतिस्पर्धी डा. कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् । काँग्रेस निर्वाचन समितिका अनुसार दोस्रो चरणको निर्वाचनको मतपरिणामअनुसार देउवाले २७३३ मत प्राप्त गरी विजयी भएका छन् भने उनका अध्यक्षका प्रतिद्वन्दी कोइरालाले १८५५ मत प्राप्त गरेका छन् ।

हिजो भएको पहिलो चरणको निर्वाचनको मतपरिणामअनुसार सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि दोस्रो चरणको पुनः मतदान भएको थियो । पहिलो चरणको निर्वाचनको मतपरिणामअनुसार देउवाले २२५८ मत प्राप्त गरेका थिए भने उनका अध्यक्षका प्रतिस्पर्धी कोइरालाले १७२९ मत प्राप्त गरेका थिए । सभापतिका अरु तीन उम्मेदवारहरू क्रमशः प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरूङले २२ मत प्राप्त गरेको समितिले जनाएको छ ।

समितिका अनुसार पहिलो चरणको निर्वाचनमा देउवाले ४८.२३, कोइरालाले ३६.९३, सिंहले ७.९२, निधिले ५.३१ र गुरुङले ०.०४ प्रतिशत मत ल्याएका थिए । सबैभन्दा बढी मत प्राप्त गर्ने सभापति देउवालाई विजयी हुनका लागि ८१ मत नपुगेको समितिले जनाएको थियो ।

काँग्रेस निर्वाचन समितिका अनुसार कुल ४७४३ मतदातामध्ये ४६८१ मत खसेको थियो । पहिलो चरणको निर्वाचनमा काँग्रेस सभापतिमा देउवा, कोइरालाका अलावा निधि, सिंह र गुरुङ उम्मेदवार रहेका थिए । तर सबैभन्दा बढी मत ल्याउने दुई जना देउवा र कोइरालाबाहेक अन्य ३ जना निधि, सिंह र गुरुङ पहिलो चरणवाटै बाहिरिएका थिए । पहिलो चरणवाटै बाहिरिएपछि निधि, सिंह र गुरुङले देउवालाई समर्थन गरेका थिए ।

कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने प्रावधान रहेकोले पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएकोले सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार देउवा विजयी भएका हुन् ।

देउवा दोस्रो पटक काँग्रेसको सभापतिमा निर्वाचित भएका हुन् । यसअघि काँग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनबाट सभापतिमा देउवाले सभापति पदका अर्का प्रत्यासी रामचन्द्र पौडेललाई हराएका थिए । यस्तै पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !