१२ बैशाख २०८१, बुधबार

काँग्रेस महाधिवेशन : एउटै मञ्चमा देखिए ओली, प्रचण्ड र नेपाल


एउटै मञ्चमा देखिए ओली, प्रचण्ड र नेपाल

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सभापति शेरबहादुर देउवाले गरेका छन् । राजधानीको भृकुटीमण्डपमा पार्टी सभापति देउवाले पानसमा बत्ती बालेर महाधिवेशनको औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

दिउँसो १ बजेबाट शुरु हुने पूर्व निर्धारित महाधिवेशनको उद्घाटन सत्र सवा १ घण्टा ढिला सुरु भएको हो । ‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली काँग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ काँग्रेसको महाधिवेशन शुरु भएको छ ।

कांग्रेसको महाधिवेशनको उद्घाटन समारोहमा नेकपा विभाजनपछि नै एउटै मञ्चमा नदेखिएका पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले एकैसाथ ‘डायस सेयर’ गरेका छन् । कांग्रेसको आजबाट शुरु हुने महाधिवेशनमा एमालेका अध्यक्ष ओली सहभागी भएका हुन् । कांग्रेसको निमन्त्रणालाई स्वीकार गर्दै उनी महाधिवेशनमा शुभकामना दिन आएका हुन् ।

महाधिवेशनमा सहभागी हुन ओलीलाई कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले निवासमै पुगेर आग्रह गरेका थिए । यसअघि एमालेको महाधिवेशनमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा चितवनमा पुगेर शुभकामना दिएका थिए ।

एक वर्षअघि तत्कालीन नेकपामा आफूलाई अध्यक्ष तथा प्रधानमन्त्रीबाट हटाउन प्रचण्ड–माधव समूहले निर्णायक कदम चालेदेखि ओली, प्रचण्ड र माधवकुमार नेपाल एकै मञ्चनमा सहभागी भएका थिएनन् । शुक्रबार कांग्रेस महाधिवेशनमा ओली सहभागी भएर प्रचण्ड–माधवसँग पहिलोपटक एकै मञ्चमा भेट भएको हो ।

यसअघि एमालेका अध्यक्ष ओलीले एमालेबाट विभाजित भएर गठन भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहभागी हुने कार्यक्रममा सहभागी नहुने नीति लिँदै आएका छन् । यसअघि संसद्को अवरोध हटाउनको प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेकपा एकीकृत समाजवादी सहभागी भएको भन्दै एमालेले बहिष्कार गरेको थियो ।

कांग्रेस महाधिवेशनको उद्घाटन ओली, दाहाल र नेपालबीच भेट भएको हो । तत्कालीन नेकपाका तीन शीर्ष नेताहरु अहिले तीन पार्टीका कारण पार्टीका अध्यक्ष भएका छन् ।

ओली र दाहालबीच गत वर्ष पुस ५ गते संसद विघटन भएपछि भेट भएको छैन भने ओली र नेपालबीच पनि ६ महिनापछि भेट भएको हो । उनीहरुमा प्रचण्ड र नेपालको ओलीसंगको सम्वन्ध पानी बराबारको जस्तै छ । विगत ६ महिनादेखि हिजोसम्म ओली-प्रचण्ड र नेपाल भेटवार्ता नभएपनि अधिकांश कार्यक्रममा कटाक्ष र जवाफमा उत्रिदै आएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु