६ बैशाख २०८१, बिहिबार

काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी


नेपाली कांग्रेस

हेटाैंडा । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका ​छन् । संस्थापनइतर रामचन्द्र पौडेल पक्षका जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै सभापति शेरबहादुर देउवा समूहबाट उम्मेदवार बनेका बानियाँ विजयी भएका हुन् ।

निर्वाचन समितिका अनुसार आइतबार भएको दोस्रो चरणको मतदान परिणाममा बागमती प्रदेशको सभापति पदमा विजयी बानियाँले १०८५, उनका निकटतम प्रतिद्वन्द्वी केसीले ९२७ मत प्राप्त गरेका छन् । प्रदेश अधिवेशनमा २०२६ मत खसेको थियो भने १३ मत बदर भएको थियो । बानियाँले केसीलाई १५८ मतान्तरले पराजित गरेका हुन् ।

हिजो शनिबार भएको पहिलो चरणको मतदानमा चुनावी प्रतिस्पर्धामा उत्रिएका ३ जना उम्मेदवारमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणको मतदानबाट बाहिरिएका भीमसेनदास प्रधानले संस्थापन पक्षका बानियाँलाई समर्थन गरेका छन् ।

पहिलो चरणको मतदानमा बानियाँले ९९२ मत ल्याएका थिए भने दोस्रो हुने केसीले ८७२ मत ल्याएका थिए । तेस्रो हुने भीमसेनले १९७ मत ल्याएका थिए । बढी मत ल्याएका बानियाँले ४८ प्रतिशत मत ल्याएका हुन् । पहिलो चरणमा कुल २१ सय ५१ मतमध्ये २०८३ मत खसेको थियो ।

कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वास पात्र बानियाँ बागमती प्रदेश काँग्रेस संसदीय दलका नेता तथा मकवानपुर जिल्ला सभापति समेत छन् । यसअघि देउवा नेतृत्वको सरकारमा बानियाँले गृह राज्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए ।

बागमतीमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादीबीच आगामी कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति भएअनुसार अव उनी राजेन्द्र पाण्डेको कार्यकाल पछि बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् ।

गठबन्धनको शीर्ष नेतृत्व तहमा भएको छलफल र सहमतिअनुसार पहिलो आधा कार्यकाल एकीकृत समाजवादीका पाण्डे र आधा काँग्रेसको बानियाँ सरकारको नेतृत्व गर्दै मुख्यमन्त्री बन्नेछन् । यसरी पहिला एकीकृत समाजवादीका पाण्डे मुख्यमन्त्री बन्ने र त्यसपछि काँग्रेसका इन्द्र बानियाँ मुख्यमन्त्री बन्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !