१३ बैशाख २०८१, बिहिबार

बैतडीका चार पालिकामा माओवादी केन्द्रको अधिवेशन सम्पन्न


नेकपा माओवादी केन्द्र

बैतडी । नेकपा (माओवादी केन्द्र) ले बैतडीका चार पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मङ्सिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म चार पालिकामा अधिवेशन सम्पन्न गरेको हो ।

माओवादी केन्द्रका जिल्ला संयोजक प्रेमप्रकाश भट्टका अनुसार पाटन र पुर्चौडी नगरपालिका तथा दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।

पाटनमा तर्क ठगुन्नाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा पूजा भट्ट, कृष्ण भाट र कृष्ण पन्त चयन भएका छन् । नगर कमिटीको सचिवमा गजेन्द्र बोहरा, सहसचिवमा केशव भट्ट र कोषाध्यक्षमा चन्द्रा पाण्डेय छनोट भएका छन् ।

यस्तै पुर्चौडीमा आनन्दसिंह धामीको अध्यक्षतामा ६५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा उज्जलसिंह साउद, लीला जोशी र मने लुहार, सचिवमा धर्मानन्द बडु, सहसचिवमा नीराजन ढुङ्गाल र कोषाध्यक्षमा पुष्कर विष्ट चयन भएका हुन् ।

दोगडाकेदारमा तारासिंह कुँवरको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको संयोजक भट्टले जानकारी दिए । उपाध्यक्षमा हेमराज भट्ट, मानसिंह गोयला र नरेन्द्रसिंह कार्की, सचिवमा धनबहादुर महरा, कोषाध्यक्षमा लक्ष्मी ओड र सहसचिवमा जयन्त विष्टलाई चयन गरिएको छ ।

यसैगरी सिगासमा प्रकाश साउदको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा उद्धव धामी, लक्ष्मण धामी र लक्ष्मी पोखरेल, सचिवमा रवीन्द्र चन्द, कोषाध्यक्षमा भीम धामी र सहसचिवमा दानसिंह साउद चयन भएका छन् । जिल्लाका अन्य पालिकामा मङ्सिर २५ गते अअघि नै पालिका सम्मेलन सम्पन्न गरिने माओवादी केन्द्र बैतडीले जनाएको छ ।

राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ । माओवादी केन्द्रले मङ्सिर २५ गते सातै प्रदेशमा तथा आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !