११ बैशाख २०८१, मंगलबार

योगेश भट्टराई भन्छन्- सर्वसम्मत चयन हुने सम्भावना बढेको छ


योगेश भट्टराई

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले पदाधिकारी र केन्द्रीय सदस्य चयन सर्वसम्मत हुने सम्भावना बढेको बताएका छन् ।

हिजो शुक्रबार राति चितवनको सौराहामा बसेको बैठकपछि पत्रकारसँगको कुराकानीमा नेता भट्टराईले पूर्ण रूपमा सर्वसम्मत हुन्छ भन्न सकिने अवस्था नभएपनि त्यसको सम्भावना भनेको बढेको बताए ।

उनले आजको निर्णयले एमालेमा सहमतिको वातावरण बनेको सन्देश गएको पनि बताए । आजको बैठकले केन्द्रीय सदस्य र पदाधिकारीमा सदस्यको संख्या थप्ने निर्णय गरेको छ ।

एमालेले केन्द्रीय कमिटीको आकार बढाउने भएको छ । सौराहामा सम्पन्न वर्तमान केन्द्रीय कमिटीको अन्तिम बैठकले केन्द्रीय सदस्यसहित पदाधिकारीको सङ्ख्या बढाउने निर्णय गरेको हो । सर्वसम्मत नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ ।

२२५ सदस्यीय केन्द्रीय कमिटीको आकार बढाएर ३०१ सदस्यीय बनाइएको छ भने ९९ सदस्यीय पोलिटब्यूरो गठन गर्ने निर्णयसमेत गरिएको छ । पैँतालिस सदस्यीय स्थायी समिति यथावत् रहेनछ ।

मालेको आयोग २५ सदस्यीय हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावअनुसार पदाधिकारीको सङ्ख्या थप गरिएकामा वरिष्ठसहित उपाध्यक्ष सात र उपमहासचिव तीन जना रहनेछन् । कूल पदाधिकारी सङ्ख्या १९ पुगेको छ ।

यस्तै सचिवालय १९ सदस्यीय हुने भएको छ । पदाधिकारीमध्येबाट ५ जनाको सचिवालय बनाउने व्यवस्था थियो । बैठकको निर्णयअनुसार ३०१ सदस्यीय सल्लाहाकार परिष्द हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि राखेको प्रस्तावलाई केन्द्रीय समितिको बैठकले सर्वसम्मतिले पारित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !