८ बैशाख २०८१, शनिबार

बादलले पार्टी छाडे, कार्यालय छोडेनन्, वैद्यलाई दिने भए फर्निचर गिफ्ट


mohan-baidhya-badal

नेकपा क्रान्तिकारी माओवादी विभाजन गरेका नेता रामबहादुर थापा बादलको समूह नेकपा माओवादी केन्द्रमा एकीकृत भएको छ । तर, बहुमत सदस्यसहित बाहिरिएका बादलले पहिलेको पार्टी कार्यालय भने छाडेका छैनन् । नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय कार्यालय बुद्धनगरमा छ ।

अध्यक्ष मोहन वैद्य किरणले पार्टी एकतामा असहमति राखेपछि बादलले आफूपक्षीय सदस्यको केन्द्रीय समिति बैठक राखेर आफैँलाई अध्यक्ष घोषित गरेका थिए ।

त्यसपछि उनी वैद्यलाई छाडेर पार्टी एकतामा गएका थिए । कार्यालय नछाड्ने, बरु केही फर्निचर दिने बादल पक्षको योजना भाडाको घर भए पनि बुद्धनगरको कार्यालयले राजनीतिक महत्त्व बोकेको भन्दै बादल पक्षले नछाड्ने जनाएको छ ।

बहुमत सदस्य आफ्नो पक्षमा रहेकाले कार्यालय पनि आफ्नै हुने भन्दै उसले वैद्य पक्षलाई कार्यालय सार्न आग्रह गर्ने भएको छ । नेता सावित्रीकुमार काफ्लेले जनवादी केन्द्रीयतालाई मान्ने हो भने बहुमतका आधारमा कार्यालय आफूहरूको भएको बताए ।
‘किरणजीहरूलाई केही दिनका लागि मात्रै यहाँ कार्यालय सञ्चालन गर्न दिएका हौँ,’ काफ्लेले भने, ‘नैतिकता हुने हो भने उहाँले अल्पमतमा परिसकेपछि पार्टी कार्यालय र पार्टीको नामसमेत छाड्नुपर्छ ।’ वैद्यले आवश्यक ठानेमा कार्यालयका फर्निचर दिन सकिने बादल पक्षको भनाइ छ ।

‘हामी कार्यालय छाड्दैनौँ,’ काफ्लेले भने । तर, वैद्य पक्षका सचिवालय सदस्य रामसिंह श्रीषले कार्यालयका विषयमा कुराकानी नै नभएको बताए । ‘उहाँहरू अर्काे पार्टीमा मिसिन गइसकेपछि कार्यालयका विषयमा विवाद गरेर के अर्थ रहला र ?’ उनले भने । कार्यालयको दोस्रो तलामा वैद्य र नेता सिपी गजुरेलको कोठा छ । पहिलो तलामा भने बादल, देव गुरुङलगायत नेताको कोठा छ । ‘माथिल्लो तलामा रहेका नेताहरू एकातिर र तल्लो तलामा रहेका नेताहरू एकातिर रहेका कारण पनि अहिले फ्ल्याट भाडामा लिएर बसेकोजस्तो र सहज देखिएको छ,’ वैद्य पक्षका एक नेताले भने ।

पुरानै कार्यालयमा बादलको बैठक
बिहीबार पार्टी एकता गरेका बादलले शुक्रबार र शनिबार दुवै दिन बुद्धनगरको पुरानो पार्टी कार्यालय प्रयोग गरेका छन् । एकतामा असहमति राखेका नेकपा क्रान्तिकारी अध्यक्ष मोहन वैद्यले सोही भवनमा शुक्रबार र शनिबार केन्द्रीय कमिटीको बैठक राखेका थिए । दोस्रो र तेस्रो तलामा वैद्यको बैठक चलिरहेको थियो । भुइँतला र पहिलो तलामा भने बादल नेता/कार्यकर्तासँग छलफल गरिरहेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !