१३ बैशाख २०८१, बिहिबार

एमाले महाधिवेशनको उद्घाटन हुँदै : यी स्थानबाट जुलुस निस्कदै


एमाले महाधिवेशन जुलुस

चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशन चितवनको नारायणगढमा आजवाट शुरु हुँदैछ । एमालेको महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम तय गरिएको एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

एमालेको महाधिवेशनको उद्घाटन सत्र चितवनको नारायणी नदी किनार नारायणगढमा हुन लागेको हो भने बन्द सत्र सौराहामा हुनेछ । भव्य तयारी सकिएको महाधिवेशन नारायणगढ बजारसँग जोडिएको नारायणी नदी किनारमा आज उद्घाटन सत्र हुँदैछ भने पर्यटकीय नगरी सौरहामा बन्दसत्र हुनेछ ।

नेकपा एमालले ५ लाख भन्दा बढी कार्यकर्ता चितवन उतार्ने बताएको छ । महाधिवेशनमा सहभागी हुन अध्यक्ष केपी शर्मा ओली लगायत अधिकांश नेता कार्यकर्ता चितवन आइपुगेका छन् । एमालेले महाधिवेशनलाई ‘हाइटेक’ प्रविधिमार्फत थप भव्य बनाइएको जनाएको छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्र अघि विशाल र्‍याली निस्कदैछ । बाहिरी जिल्लाबाट आएकाहरुसहितको मुल जुलस विहान ११ बजेदेखि निस्कन थालेको हो ।

जनजातिहरुको झाँकी, बाजा सहितको र्याली पनि निकाल्ने गरिएको छ । जातीय संगठनहरुले टोल टोलबाट समन्वय गरी विभिन्न जनजातीको भेषभुषा सहितको र्याली सहभागी हुने एमाले चितवनकी अध्यक्ष पार्वती रावलले बताइन् ।

चेपाङ, थारु, गुरुङ, तामाङ, मगर लगायतका जनजातिको झाँकीहरु आउनेछन् । पोखरा, काठमाडौंबाट आएका कार्यकर्ता सहभागी भएको जुलुस आँपटारीबाट निस्कने छ । यसको नेतृत्व रावल आफैं तथा कृष्णभक्त पोखरेल लगायतले गर्नेछन् ।

पूर्वीनेपालबाट आउनेहरुको केन्द्रीय बस ट्रमिनलबाट जुलुस निस्कने छ । नेता काशिनाथ अधिकारी, विजय सुवेदी, जगन्नाथ थपलिया लगायतले त्यसको नेतृत्व गर्नेछन् । मुल जुलसहरुमा केन्द्रीय शीर्षनेताहरुको पनि सहभागिता हुनेछ । उद्घाटनस्थल नारायणी नदी किनारमा विहानैदेखि सर्वसाधरण, नेता, कार्यकर्ताहरुको चहलपहल बढेको छ ।

उद्घाटन सत्रपछि मङ्सिर ११ गते बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र सुरु हुने छ । अध्यक्ष मण्डल र माइन्युट कमिटि बनिसकेका छन् । बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओली र विदेशी पाहुनाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन उम्मेदवारी दर्ता, दावी विरोध र फिर्ता समेतको प्रक्रिया सकेर साँझ ६ बजे अन्तिम नामावली प्रकाशित गरिने छ ।

मङ्सिर १२ गते बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ । मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ । तीमध्ये ९० वटामा मतदान गरिने छ भने १० वटा जगेडाका रूपमा राखिने छ । सोही दिन साँझसम्ममा मत परिणाम आउनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !