११ बैशाख २०८१, मंगलबार

प्रचण्डलाई ओलीको चुनौती : झापामा गएर महाधिवेशन गर्नुस्


प्रचण्ड र केपी ओली

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफ्नो पार्टीको महाधिवेशन झापामा गएर गर्न चुनौती दिएका छन् ।

आज मंगलबार सम्पादकहरूसँगको अन्तर्क्रिया कार्यक्रममा ओलीले माओवादी केन्द्रको आगामी महाधिवेशन झापामा गएर गर्न चुनौती दिएका हुन् । हिजो सोमबार प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेपछि ओलीले सो जवाफ दिएका हुन् ।

‘महाधिवेशन कहाँ गर्ने समस्या होइन । रोल्पातिर गरौं चुनाव लड्नु भएको छ । सिरहा गरौं उहाँ लडेको छ । काठमाडौंमै गरौं उहाँ चुनाव लडेको छ । चितवनमा गर्दा पनि उहाँ लडेको छ,’ ओलीले भने, ‘हामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौं । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु। झापा आएर माओवादी अधिवेशन गर्नुस् ।’

ओलीले नेकपा मालेले चितवनमा नै महाधिवेशन गरेको भोलिपल्टै आफूलाई सिध्याउन महाधिवेशन गरिएको भनेर सीपी मैनालीतिर भनिएको हो कि भन्दै कटाक्ष पनि गरे । कोही चुनाव कहीबाट लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने भन्ने मान्न नसकिने उनको भनाइ छ ।

‘मलाई सिध्याउन यही (चितवन) बाटो हिड्नु भयो भनेर आरोप लगाउनु हुन्छ। कसरी सकिन्न ? सिपीजीले महाधिवेशन सकेपछि भोलिपल्ट भनेकाले उहाँले उता भन्नू भएको होला, हामीलाई होइन पनि। उहाँको निर्वाचन क्षेत्रमा गएर गरे भन्ने लाग्छ भने मेरो निर्वाचन क्षेत्रमा आएर गर्नुस्,’ उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !