११ बैशाख २०८१, मंगलबार

राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन उपराष्ट्रपतिको अपिल


उपराष्ट्रपति नन्दबहादुर पुन

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रिय जनगणनामा सक्रिय सहभागी हुन सबै देशबासीलाई अनुरोध गरेका छन् । बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ प्रारम्भको अवसरमा आज सन्देश दिँदै उनले राष्ट्रिय उत्सवका रूपमा सुरु भएको यस राष्ट्रिय अभियानलाई सफल बनाउन अनुरोध गरेका हुन् ।

प्रत्येक १० वर्षमा हुने राष्ट्रिय जनगणनाको बाह्रौँ शृङखला अर्थात् बाह्रौँ राष्ट्रिय जनगणना–२०७८ आजदेखि प्रारम्भ हुँदैछ । जनगणना आजदेखि सुरु भई मङ्सिर ९ गतेसम्म सञ्चालन हुनेछ ।

जनगणना तथ्याङ्क प्रणालीको मेरुदण्ड र विकासको आधार भएकाले जनताको जीवनस्तर, कूल जनसङ्ख्या, जातीय, भाषिक, धार्मिक समुदाय तथा भौगोलिक अवस्थितिको जनसङ्ख्या यसैबाट प्राप्त हुने उपराष्ट्रपतिले बताएका छन् ।

“जनगणनाबाट प्राप्त तथ्याङ्कका आधारमा नै विकास निर्माणका योजना तर्जुमा, सामाजिक सुरक्षा कार्यक्रम तय, शिक्षा, स्वास्थ्य र सुरक्षा जस्ता संविधान प्रदत्त जनताका मौलिक हक अधिकार तथा आधारभूत आवश्यकता पूरा गर्न आवश्यक पर्ने स्रोतको आकलन गरिन्छ । त्यसैले जनगणना सरकारको मात्रै नभएर आम जनताको आवश्यकता हो”, उनले भनेका छन् ।

उनले नेपालमा जनगणना सुरु भएको शताब्दी बढी भइसके तापनि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएपछिको पहिलो जनगणना भएकोले बाह्रौँ राष्ट्रिय जनगणनाको विशिष्ट महत्व रहेको बताएका छन् ।

उपराष्ट्रपतिले जनगणनाका लागि घर आँगनमा आउने गणकलाई निर्धक्क आफ्नो सत्य तथ्य विवरण उपलब्ध गराई सहयोग गर्न अपिलसमेत गरेका छन् । उहाँले राष्ट्रिय जनगणनामा प्रत्येक नेपाली जनताले दिने व्यक्तिगत विवरणलाई जस्ताको त्यस्तै उल्लेख गरी यथार्थ विवरण सङ्कलन गर्न सम्पूर्ण गणकलाई आग्रह गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !