११ बैशाख २०८१, मंगलबार

एमाले अध्यक्ष ओलीले आज प्रचण्डको गृह जिल्ला चितवनमा सम्बोधन गर्दै


केपी ओली

काठमाडौँ । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनमा सम्बोधन गर्दैछन् । एमाले अध्यक्ष ओलीले आज सोमबार पहिलोपटक प्रस्तावित माडीको अयोध्याधाम अवलोकन गर्ने भएका हुन् ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओली आज सोमबार चितवन जाने कार्यक्रम रहेको बताए । ओलीले अयोध्याधाम अवलोकनपछि सम्बोधन गर्ने कार्यक्रमन रहेको छ । त्यसपछि उनले एमाले भरतपुर महानगर कमिटीको अधिवेशन उद्घाटन गरेपछि सम्बोधन पनि गर्नेछन् । ओलीले केन्द्रीय महाधिवेशनको तयारीबारे जानकारी र महाधिवेशनस्थल निरीक्षण पनि गर्नेछन् ।

२०७७ साल असार २९ भानुजयन्तीका दिन बालुवाटारमै आयोजित कार्यक्रममा ओलीले राम भारतीय हुँदै नभएको भन्दै नेपालमै जन्मेको र अयोध्या पनि नेपालमै रहेको अभिव्यक्ति दिएपछि माडीको अयोध्यापुरी चर्चा परिचर्चा नेपाल र भारतमा भएको थियो ।

माडी नगरपालिका-९ मा पर्ने अयोध्याधाम भरतपुरदेखि करिब ५० किलोमिटर दूरीमा छ । यहाँ रामायणसँग जोडिएका अयोध्यापुरी, वाल्मीकि आश्रम, सोमेश्वरगढी, पाण्डवनगर, पर्शुराम कुण्ड लगायतका धार्मिक क्षेत्रहरू छन् ।

यसअघि एमालेले दशौं महाधिवेशन माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा तामझामका साथ गरेर शक्ति प्रदर्शन गर्ने निर्णय गरिसकेको छ । बादलको गृहजिल्ला पनि चितवन नै भएकोले महाधिवेशन चितवनमै गर्न लाग्नुलाई विशेष चासोका साथ हेर्न थलिएको छ ।

आगामी निर्वाचनमा बादलले प्रचण्डसँग लड्ने घोषणा गरिसकेका छन् । एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्र नारायणी नदी किनार नारायणगढ र बन्द सत्र पर्यटकीय क्षेत्र सौराहामा हुने भएको छ ।

आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन चितवनमा गर्न लागेको हो । उद्घाटन सत्रमा ५ लाखभन्दा बढी नेता-कार्यकर्ता उतारेर एमालेले प्रचण्डको गृहजिल्ला चितवनको नारायणी नदी किनारको खुल्ला ठाउँ छनोट गरेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !