१३ बैशाख २०८१, बिहिबार

माओवादीको किल्ला रोल्पाको थवाङमा एमालेकाे सूर्य उदायो : सूर्य थापा


सूर्य थापा र देवबहादुर घर्ती

काठमाडौँ । नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले नेकपा माओवादी केन्द्रको किल्ला रोल्पा जिल्लाको थवाङमा एमालेकाे सूर्य उदाउने भएकाे टिप्पणी गरेका छन् । नेकपा (एमाले) थवाङ गाउँपालिका कमिटी अध्यक्षमा देवबहादुर घर्ती सर्वसम्मत चयन भएपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

बिहीबार सम्पन्न प्रथम अधिवेशनले थबाङ गाउँपालिका कमिटी अध्यक्षमा देउलालाई चयन गरेको थियो । उपाध्यक्षमा सरस्वती नेपाली, सचिवमा मनाेज बुढा, उपसचिवमा निर्मल परियार र मुलधन पुनलाई चयन गर्दै ३५ सदस्यीय गाउँपालिका कमिटी गठन भएकाे छ ।

सामाजिक संजाल ट्वीटरमा आज लेख्दै थापाले माओवादीले आफ्नाे हुनान बताउँदै आएकाे ‘त्याे काख जलजलाकाे-थवाङ’ मा नेकपा एमालेकाे सूर्य उदाउने भएकाे भनेर लेखेका छन् ।

थापाले माेहनविक्रम, माेहन वैद्य र प्रचण्डलाई विगत ६० बर्षदेखि निरन्तर साथ सहयाेग गरेकाे थवाङ माओवादी ‘जनयुद्ध’को केन्द्र, गढ र किल्लाजस्तै मानिन्थ्यो भनेर पनि लेखेका छन् ।

हुनान जनवादी गणतन्त्र चीनको दक्षिण मध्य क्षेत्रमा अवस्थित चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्र, गढ र किल्ला भएको एक भूपरिवेष्ठित प्रान्त हो । यस्तै रोल्पाको थवाङलाई माओवादीले आफ्नो आधार इलाका मान्दै आएको छ ।

थापाले लेखेका छन्, ‘माओवादीले आफ्नाे ‘यनान/हुनान’बताउँदै आएकाे ‘त्याे काख जलजलाकाे-थवाङ’मा नेकपा एमालेकाे सूर्य उदाउने भएकाे छ । माेहनविक्रम- माेहन वैद्य र प्रचण्डलाई विगत ६० बर्षदेखि निरन्तर साथ सहयाेग गरेकाे थवाङ माओवादी ‘जनयुद्ध’को केन्द्र, गढ र किल्लाजस्तै मानिन्थ्यो ।’

सूर्य थापा ट्वीट


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !